• 1:28 am

एमसीसी सम्झौतै पढ्दै नपढी अमेरिकी सेना आउँछ भनेर हल्ला गरियोः प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०७७ असार ५ गते, शुक्रबार ०९:२१

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नपढेर नै विरोध भइरहेको बताएका छन् । संघीय संसद राष्ट्रियसभाको बिहीबारको बैठकमा उनले एमसीसी नपढी अमेरिकी सेना नेपालमा आउने भन्ने लगायतका अफवाह फैलाइएको बताएका हुन् ।

केही केहीहरूले हल्ला चलाएका छन्, एमसीसी पढ्न अल्छी लाग्छ कि के हो ? एमसीसी पढेका मान्छे त्यति भेटिनँ, प्रधानमन्त्री ओलीको भने ।

संघीय संसदको प्रतिनिधिसभामा दर्ता भएको एमसीसीलाई पढेर मात्रै बोल्न प्रधानमन्त्रीको सुझाव थियो । एमसीसी सम्झौता खोजेर ल्याएर पढे हुन्छ । पढ्नेभन्दा हल्लाका भरमा कुद्ने र जसरी भए पनि विरोध गर्न पाए भयो भन्ने कस्तो चिन्तन ? खुट्टाले टेक्न छोडेर टाउकाले र हातले टेकेर हिँड्न भएन । जे प्रबन्ध छ त्यसमा भएको ठिक बेठिक छुट्याएर भने हुन्छ, उनले थपे, लहैलहैमा अमेरिकी सेना आउने भयो भनेको छ । कहाँ पढ्छन् ? के पढ्छन् ?

प्रधानमन्त्रीले एमसीसी सडक र सदनको विषय बनेको भन्दै सबैले पढेर मात्रै धारणा राख्नुपर्ने सुझाव दिएका थिए ।

एमसीसीको विरोध गर्नेहरूलाई मुलुकमा वैदेशिक लगानी आउन लागेको र विकास हुन लागेकोमा चिन्ता भएको प्रधानमन्त्री ओलीको आरोप थियो । उनले भने, कि यस देशमा विकास हुन आँट्यो भन्ने चिन्ता हो ? यस देशमा विकासका लागि अनुदान आयो भन्ने चिन्ता हो ।

एमसीसीबारे नेकपाभित्रै विवाद रहेको छ । एमसीसीले नेपालको सार्वभौमिकता संकटमा पार्ने नेकपाका नेताहरूले बताउँदै आएका छन् । पार्टीभित्रको विवादका कारण उक्त सम्झौतालाई संसदमा छलफलका लागि अगाडि बढेको छैन ।

नेकपाले झलनाथ खनालको नेतृत्वमा एमसीसी अध्ययन कार्यदल नै गठन गरेको थियो । उक्त कार्यदलले एमसीसी सम्झौता परिमार्जन नगरी पारित हुन नहुने प्रतिवेदन बुझाएको थियो । अर्कोतर्फ सरकारले भने एमसीसीमा रहेका परियोजना बजेटमा राखेर संसदबाट पारित गराएको छ । यो समाचार कान्तिपुर अनलाइनबाट लिइएको हो ।

प्रतिकृया