लकडाउनको स्वरूप परिवर्तनगर्न अपराह्न मन्त्रिपरिषद बैठक बस्दै
प्रकाशित मिति
२०७७ जेष्ठ २८ गते, बुधबार ०८:५१
काठमाडौं । साढे २ महिनादेखिको लकडाउनले जनजीवन कठिन बन्दै गएपछि सरकारले लकडाउनको स्वरूप परिवर्तन गर्ने तयारी गरेको छ ।
यसबारे आवश्यक निर्णय गर्न आज अपराह्न २ बजे प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद बैठक बोलाइएको छ । बैठकमा लकडाउनको स्वरूप परिवर्तन, जनस्वास्थ्य संकटकाल लगायतका विषयमा आवश्यक निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिएका छन् ।
लकडाउन लम्बिदै गएपछि आर्थिक गतिविधि ठप्प भएको छ । जसले आममानिसको जनजीवन नै अस्तव्यस्त बन्न पुगेको छ । लकडाउन लम्बिदा पनि संक्रमण नघटेको तथा जनजीवन पनि अस्तव्यस्त भएपछि जनजीवन सहज बनाउने उपायसहित कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नै राख्ने गरिको निर्णय गर्न सरकारलाई दबाब दिइरहेका छन् ।
लकडाउनको स्वरूप परिवर्तन नभइकनै ठाउँ ठाउँमा बजार पसल खुल्न थालेका छन् भने सडकमा सवारीसाधनको चाप पनि बढ्न थालेको छ ।
लकडाउनको स्वरूप परिवर्तनबारे जनदबाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार अर्थविद् र जनस्वास्थ्यविदहरूसँग छलफल गरेका थिए । त्यसपछिको मन्त्रिपरिषद बैठकले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटी तयार गरेर सिफारिस गर्न निर्देशन दिएको थियो ।
नेपालमा कोरोनाका २ जना संक्रमित देखिएपछि चैत्र ११ गते सुरू गरिएको लकडाउनकै अवधिमा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ । भने, मृत्यु हुनेको संख्या १५ जना पुगेको छ ।






प्रतिकृया