• ६ असोज २०८३, मंगलबार
  • १ः१६ राती

श्रीमान् श्रीमतीको झगडा छुट्याउन गएकी शिक्षिकाको ढुंगाले हानी हत्या

प्रकाशित मिति

२०७६ चैत्र १ गते, शनिबार ०१:०२

ओखलढुंगा । मोलुङ्ग गाउँपालिका-५ प्राप्चाकी ३२ वर्षीया शिक्षिका हिरादेवी कटुवाल कार्कीको हत्या भएको खुलेको छ।

National Life

गत मंगलबार बिहान साढे ८ बजे विद्यालय हिँडेकी शिक्षिका कार्की मृत फेला परेकी थिइन्। कार्कीको हत्या गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-९ का २५ वर्षीय रविराज रम्तेल र उनकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ।

रम्तेलकी श्रीमती माइत मोलुङ्ग गाउँपालिका-५ प्राप्चामा बस्दै आएकी थिइन्। श्रीमतीलाई लिन गएका रम्तेल र उनकी श्रीमतीबीच कुटाकुट भइरहेको समयमा छुट्याउन गएकी शिक्षिका कार्कीको हत्या भएको आरोपितले स्वीकारेका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा रविराजले कार्कीको हत्या गरेको बयान दिएका छन्। श्रीमान् श्रीमतीबीच भएको झगडा छुट्याउन जाँदा शिक्षिकाको रविराजले हत्या गरेको प्रहरीको भनाइ छ। मृतक शिक्षिका सोहि गाउँपालिका-६ श्रीचउरमा रहेको सहिद पेशल आधारभूत विद्यालयमा २०६६ सालदेखि बालशिक्षा सहयोगीका रुपमा कार्यरत थिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

आरोपितलाई हिरासतमा राखेर म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले बताए। उनले भने ‘अनुसन्धानका क्रममा रम्तेल दम्पतीबीच भएको झगडा छुट्याउन जाँदा कार्कीको हत्या भएको देखिन्छ, तर थप तथ्य आउन बाँकी छ।’

मृतक कार्कीको टाउकोको पछाडी भाग र चिउँडोमा ढुंगाले हानेको जस्तो चोट देखिएकाले स्थानीयले हत्याको आशंका गरेका थिए। प्रहरीका अनुसार रविराज चोरी मुद्दामा पक्राउ परी ५० हजार रुपैयाँ धरौटी र दुई महिना कैद भुक्तान गरी भर्खरै छुटेका थिए। बेमेलका कारण उनकी श्रीमती माइतमा बस्दै आएकी थिइन्।

प्रतिकृया