• ४ असोज २०८३, आइतबार
  • ६ः०५ बेलुका

सत्ताको नशा : शासकहरू किन नियम तोडेर वा परिवर्तन गरेरै भएपनि टिकिरहन चाहन्छन् ?

प्रकाशित मिति

२०७६ फाल्गुन ३० गते, शुक्रबार ०६:५६

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले थप दुई अवधि शासन गर्ने बाटो खुला गर्ने विधेयक अघि बढाउन चाहेको बताएका छन्। रूसी संविधानको वर्तमान प्रावधानले त्यसरी शासन लम्ब्याउन रोकेको छ। उनी सत्ता छाड्न नचाहने अल्जेरियादेखि जिम्बाब्वेसम्मका नेताहरूको लामो सूचीको पछिल्लो उदाहरण मात्र हुन्।

National Life

सत्तामा त्यस्तो के नशा हुन्छ जसले गर्दा केही शासकहरू नियम तोडेर वा परिवर्तन गरेरै भएपनि टिकिरहन चाहन्छन्?

पैसा?
“सजिलो जवाफ हो भ्रष्टाचार, उनीहरू धेरै पैसा कमाउन सक्छन् र धनी बनिरहन सत्तामा बसिरहन चाहन्छन्”, ‘चुनावमा कसरी धाँधली गर्ने’ भन्ने शिर्षक भएको पुस्तकका सहलेखक तथा प्राध्यापक निक चीजम्यान भन्छन्।

Classic Tech Mobile
Classic Tech Desktop

पैसा गुमाउने भन्दा पनि बढी डर नेताहरूलाई सत्ता छाडेपछि आफूलाई मुद्दा लगाइन्छ की भन्ने पनि हुन्छ। उनको किताबमा प्रकाशित अनुसन्धान अनुसार सन् १९६० देखि सन् २०१० सम्म अफ्रिकामा सत्ता छाडेका ४३ प्रतिशत नेतालाई मुद्दा चलाइएको, निर्वासनमा पठाइएको वा मारिएको छ। त्यो एकदम ठूलो जोखिम हो तर कारण त्यति मात्र होइन।

वरिपरिको घेरा
नेताहरूमा उनीहरू वरपरका मानिसहरू-परिवारका सदस्य, राजनीतिक साझेदार र तिनीहरूलाई सत्तामा आउन सघाएका हुनसक्ने प्रहरी र सेनाको समेत दबाव रहन्छ। प्राध्यापक चीजम्यानले रोबर्ट मुगाबको शासनकालको पछिल्ला वर्षहरूमा सत्तामा रहिरहने उनको निर्णयमा उनी वरिपरिका मानिसहरू प्रभावशाली रहेको प्रमाण फेला पारेका छन्। तर यो राजनीतिक खेलमा झन् गहिरो कुरा पनि हुनसक्छ।

डा. डाशेर केल्टनरले झण्डै दश वर्षअघि शक्तिले व्यक्तिमा ल्याउने विरोधाभाषपूर्ण व्यवहारकाबारे ‘द पावर प्याराडक्स’ नामको एक पुस्तक प्रकाशित गरेका छन्। जस अनुसार जो मानिस पहिले सत्तामा पुग्छन् उनीहरू सामान्यताया असल सामाजिक व्यवहार भएका र धेरैलाई मनपर्नेखाले गुण र आचार भएकाहरू हुन्छन्। तिनीहरूले आफू वरपरका मानिसहरूको विश्वास जितेका हुन्छन्। तर जब ती मानिसहरू शक्तिमा पुग्छन् त्यसपछि तिनीहरू नितान्त भिन्न व्यवहार भएका प्राणीमा परिवर्तन हुन पुगेको बीबीसीले जनाएको छ ।

विभिन्न अनुसन्धानले देखाएका अनुसार केही मानिसलाई, थोरै समयकालागि पनि, शक्ति प्रदान गरिँदा त्यसले तिनीहरूको व्यवहारमा परिवर्तन ल्याइदिन्छ। उनीहरूले आफूलाई फाइदा हुने ढङ्गले काम गर्न थाल्छन्। अरूप्रतिको समानुभूति गुमाउँछन्। उनीहरूमा आफू सधैँ सहि छु भन्ने विश्वास जाग्न थाल्छ।

उनीहरू अशिष्ट बन्छन् र अरू मानिसको कुरा नसुन्ने वा आफूसँग बोलिरहँदा आँखा नजुधाएर बेवास्ता गर्ने बन्न सक्छन्। सन् १९९० को दशकमा डाक्टर केल्ट्नरले यस्तो प्रवृत्तिकाबारे गरेका एक प्रयोग निकै चर्चित छ। उनले विश्वविद्यालयका विद्यार्थीहरूलाई तीनतीनजनाको विभिन्न समूहमा बाँडेर तीमध्ये एकजनालाई शक्तिशाली नियुक्त गरे। त्यसपछि, उनी भन्छन्, “हामीले समूहका त्यस्ता व्यक्तिलाई तिनीसँग राम्रो नेतृत्व क्षमता रहेको बतायौँ।” तर त्यो सत्य थिएन। त्यसपछि उनीहरूले समूहलाई निश्चित काम गर्न भने, त्यस्तो काम थालेको करिब ३० मिनेटपछि अनुसन्धानकर्ताहरूले कुकीजको एउटा प्लेट राखिदिए। जो जो व्यक्तिहरूलाई समूहको ‘शक्तिसम्पन्न’ नाइके बनाइएको थियो ति मध्ये एकदमै धेरैजनाले आफ्नो भागमा पर्नेभन्दा धेरै कुकीज लिए। र हल्ला गर्दै, टुक्राहरू छरपस्ट पार्दै जथाभावि ढङ्गले खाए।

राम्रो ठान्नु
त्यसयताका कैयौँ अनुसन्धानहरूका अनुसार शक्तिमा पुगेपछि मानिसहरू कम सङ्कोच मान्ने खालका बन्न पुग्दारहेछन्।
गरिब केटाकेटीहरूभन्दा धनी केटाकेटीहरूले पसलबाट सामान चोर्ने, असामान्य यौन व्यवहारमा संलग्न हुने र आफ्ना साथीहरूलाई फोहोरी गाली गर्ने सम्भावना बढी देखिएको छ।

डाक्टर केल्ट्नर भन्छन्, “अस्थिरताका तीन काममध्ये दुईवटा उच्च शक्तिशाली व्यक्तिबाट हुन्छ। यो व्यवहारिक तथ्याङ्क हो।” उनले व्यापारिक प्रतिष्ठानमा शक्तिको व्यापक अध्ययन गरेका छन्। र, त्यसैले उनी शक्तिमा अरूलाई लत लगाउने क्षमता हुने विश्वास गर्छन्।
“शक्तिमा रहेको मानिसको मन र मस्तिष्कमा शक्तिले सुखद अनुभूति गराउँछ।” “शक्तिशाली मानिसले बढी खुशी महसुस गर्छन्। आफ्नो सह्राहना भैरहेको ठान्छन्, उनीहरूले आफ्नो ओहदा उच्च रहेको महसुस गर्छन्।”

चापलुसी
डाक्टर केल्ट्नेरका भनाइमा शक्तिमा रहेको मानिसले दिमागको एउटा पक्षले काम नगर्ने विरामीको जस्तो असमान्य आवेगपूर्ण व्यवहार देखाउने गर्छन्। उनले स्नायू वैज्ञानिक सुखमिन्दर ओभीले गरेको अनुसन्धान उद्धृत गरेका छन्।

त्यो टिप्पणीले मस्तिष्कमा चोट भएका मानिसहरूबाट केही रोचक सुझाव निम्त्याएको छ। “मलाई कसैले (मस्तिष्कमा चोट लागेका) लेखे, ‘यस्तो दुस्साहस गर्ने? म डोनल्ड ट्रम्पलेभन्दा निकै राम्रो व्यवहार गर्ने मान्छे हुँ।’ “ यसरी हेर्दा के बुझ्न सकिन्छ भने सम्पूर्ण शक्तिशाली अराजक नेता अहंकारी, आफूले मात्र नेतृत्व गर्न सक्ने भनी ठान्ने खालका हुनसक्छन्। देशको निम्ति के उत्तम हो भन्ने देख्ने क्षमता गुमाउन सक्छन्।
“अर्को कुरा उनीहरूले हरेक वर्ष आफ्ना चाटुकार नियुक्त गर्छन् र जो अति आलोचक छ उसलाई बर्खास्त गर्छन्”, प्राध्यापक निक चीजम्यान भन्छन्।

शक्ति गुमाउनुको मनोवैज्ञानिक प्रभाव पनि निकै गम्भीर हुन्छ। बाँदर प्रजातिमाथि गरिएको अनुसन्धानको उदाहरणमा देखिएअनुसार शक्ति गुमाउन लागेको महसुस गर्दा वृद्ध भालेहरूले आक्रामक प्रतिक्रिया जनाएका थिए।

चरित्रको परीक्षण
तर यदि सत्ता र शक्तिले मानिसलाई भ्रष्ट तुल्याउँछ भन्ने हो भने किन सबै नेता निरङ्कुश, अहङ्कारको उन्माद भारिएका र हत्यारा हुँदैनन् त?
वार्सा्स्थित मनोविज्ञानका प्राध्यापक अलेकसान्द्रा चिस्लकले सन् २०१८ मा शक्तिका दुईवटा निकै भिन्न र निकै विरोधाभाषयुक्त पक्ष पहिचान गरेकी छन्। शक्तिले शक्तिशाली व्यक्तिलाई अन्य मानिसहरूको जीवनमाथि नियन्त्रण गर्न त दिन्छ नै, त्यसले उस्लाई आफ्नै जीवनमाथि पनि थप नियन्त्रण प्रदान गर्छ।

कोही सशक्त वा शक्ति सम्पन्न छ भनेर भन्दा मानिसहरूले त्यस्तै अवस्थालाई विचार गरेर भन्ने हुन्। यदि कोही मान्छेले आफ्नो जीवनमा नियन्त्रण राख्न सक्छ भने त्यसले उसलाई सकारात्मक व्यवहारतर्फ र्डोयाउँछ। शक्तिका केही निकै सकारात्मक प्रभावहरू हुन्छन्।
तर जब त्यो नियन्त्रण गुम्छ, शक्तिको भ्रष्ट पार्न सक्ने गुणले सकारात्मक प्रभावलाई निस्तेज पार्छ।

“शक्ति राम्रो हो र त्यसको प्रयोग अति उत्तम काममा प्रयोग गर्न सकिन्छ।”, प्राध्यापक चिस्लक भन्छिन्, “तर तपाईँ शक्तिसँगै त्यस मूल्य चुकाउनु पर्ने तथ्यका बारेमा पनि सचेत रहनुपर्छ।”

उनका अनुसार यदि नेताहरू यो विरोधाभाषबारे सचेत रहेमा राम्रो पक्ष जोगाउन र नराम्रो पक्षबाट जोगिन सम्भव हुन्छ। र, त्यसैले यी शब्दहरू (सधैँ अब्राहम लिङ्कनलाई उद्धृत गरिने तर वास्तवमा उनको बारेमा भनिएको) को भाव अर्थपूर्ण छन् की, ” लगभग सबै मानिसले प्रतिकूलताो सामना गर्न सक्छन्, तर यदि तपाई उसको चरित्रको परीक्षण गर्नु छ भने उसलाई शक्ति दिनुहोस्।”

प्रतिकृया