• ६ असोज २०८३, मंगलबार
  • ९ः०१ बिहान

काखबाटै चोरेर विदेश

प्रकाशित मिति

२०७६ फाल्गुन ८ गते, बिहीबार ०७:१५

काठमाडौं । सिन्धुपाल्चोक कठरीका मञ्जु–भीमसेनबहादुर खड्का दम्पती राजधानीमा मकै पोलेर जीविकोपार्जन गर्थे। उनीहरूका तीन छोरामध्ये दुई थिए– रामकुमार र बालकृष्ण। उनीहरूको अवस्था देखेर एक दम्पतीले बालमन्दिरमा राखिदिने बताए। खाने, बस्ने र पढ्ने व्यवस्था त्यहीं हुने सुनेपछि आमा–बुवाले खुसीसाथ पठाइदिए।

National Life

घटना १० वर्षअघिको हो। उनीहरूको उमेर क्रमशः ८ र ६ वर्ष थियो। बालगृहले लामो समयसम्म खड्का दम्पतीलाई सन्तानसँग भेट्न दिएन। उल्टै ज्यानको धम्की आउन थाल्यो। बाध्य भएर उनीहरूले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिए। आयोगले ती बालकको खोजी र्गयो। पत्ता लाग्यो– नेपालबाट हराएका ती बालक इटाली र्पुयाइएका रहेछन्।

घटना अनुसन्धान गरिरहेकी आयोगकी उपनिर्देशक मञ्जु खतिवडा भन्छिन्, ‘पढाइदिने प्रलोभनमा लगेको बालगृहले नै फर्जी कागज बनाएर ती बालक इटाली र्पुयाइएको पाइयो। सकेसम्म नफस्ने तरिकाले कागजात तयार पारेको भेटियो।’
घटना अनुसन्धानपछि आयोगले सरकारको ध्यानाकर्षणसमेत गरायो। आयोगको निर्णयमा भनिएको छ, ‘ती बालकलाई बाल संगठन नक्सालमार्फत धर्मपुत्रका रूपमा पठाएको भन्ने देखिँदा धर्मपुत्रसम्बन्धी कानुनी व्यवस्था, नीतिसमेत आवश्यक संशोधन गर्न, जनचेतना र सचेतना वृद्धि गर्न÷गराउन र आफ्ना बालबालिकाको संरक्षण गर्ने दायित्व अभिभावक बाबुआमा स्वयंको हुने भएकाले त्यसतर्फ सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न÷गराउन सरकारलाई नीतिगत सिफारिस गर्ने।’

Classic Tech Mobile
Classic Tech Desktop

विदेश पुर्याउने चोर बाटो
सयौं छोराछोरीलाई सरकारी रेकर्डमा नराखी धर्मपुत्र÷पुत्री बनाएर विदेश र्पुयाइएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अभिलेखअनुसार सन् २०१० देखि २०१९ जुलाईसम्म अमेरिकासहित १० मुलुकमा ६४ बालबालिका धर्मपुत्र–धर्मपुत्री बनाएर लगिएको छ। तर अमेरिकी स्टेट डिपार्टमेन्टको अभिलेख र ९ मुलुकले नेदरल्यान्डस्थित अन्तरसरकारी निकाय ‘हेग कन्फ्रेन्स अन प्राइभेट इन्टरनेसनल ल’ (एचसीसीएच) लाई बुझाएको सूची जोड्दा २४२ जना पुग्छ।
अमेरिका, डेनमार्क, फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड, क्यानडा, जर्मनी, बेल्जियम, इटाली र स्विडेनका यी तथ्यांकले चोर बाटोबाट बालबालिका तस्करी हुने गरेको प्रस्टै छ।

नेपालबाट बालबालिका सजिलै धर्म सन्तानका रूपमा लैजान सकिन्न। नेपाली बालबालिका विदेशी नागरिकलाई धर्मपुत्र, धर्मपुत्री ग्रहण गर्न दिने सर्त तथा प्रक्रिया–२०६५ ले रोजेर धर्म सन्तान ग्रहण गर्न नपाइने व्यवस्था छ। त्यसैगरी धर्मसन्तान ग्रहण गर्न चाहने विदेशी नागरिकले सूचीकृत विदेशी संस्था र एजेन्सी वा नेपालस्थित आफ्नो देशको दूतावासमा निवेदन दिनुपर्ने हुन्छ। त्यसो नभए नेपालका निम्ति तोकिएको दूतावासमार्फत धर्म सन्तान ग्रहण गर्न चाहने बालबालिकाको उमेर, लिंग र अन्य विवरण खुलाई तोकेबमोजिमको ढाँचामा निवेदन पेस गर्नुपर्ने हुन्छ।

निवेदकले पेस गरेको विवरणअनुसार बालबालिका छनोट गर्ने जिम्मा सहसचिव नेतृत्वको ‘परिवार छनोट समिति’ को हुने व्यवस्था सर्त र प्रक्रियाको दफा १४ मा उल्लेख छ। सर्त र प्रक्रियाको दफा १४ (३) अनुसार प्राप्त निवेदकको विवरणका आधारमा पहिला निवेदन दिने र परिवार छनोट समितिमा पहिला दर्ता भएको निवेदनलाई पहिलो प्राथमिकतामा राखेर बालबालिका छनोट गर्नुपर्ने व्यवस्था छ। जब कि एचसीसीएचको वेबपेजबाट प्राप्त विवरणले ठूलो संख्यामा यो प्रक्रिया छलेर बालबालिका विदेश पुगेको देखिन्छ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार नेपाल सरकारले हाल १८ देशमा धर्मपुत्र–धर्मपुत्री लैजान अनुमति दिने गरेको छ। तर, अमेरिकी स्टेट डिपार्टमेन्टको अभिलेख र एचसीसीएचमा ९ देशको मात्रै विवरण फेला पारेपछि तुलनात्मक अध्ययन १० देशमा सीमित छ। बाँकीको अवस्था भने अज्ञात छ।

प्रतिकृया