• ५ साउन २०८३, मंगलबार
  • १०:२१ बिहान

सरकारले तत्काल नेपालको आधिकारिक नक्शा सार्वजनिक नगरे देशव्यापी आन्दोलनमा जान्छौंः सीमा बचाऊ अभियान

प्रकाशित मिति

२०७६ पुष २९ गते, मंगलवार ०५:०९

काठमाडौँ, कालापानी र लिम्पियाधुरा समेत समावेश गरी नेपालको नक्शा सार्वजनिक गरेको सीमा बचाऔँ अभियानले आज सुस्ता सहितको नेपालको नक्शा सार्वजनिक गरेको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी नेपालको सम्पूर्ण भूभाग समावेश गरी नक्शा सार्वजनिक गर्दै अभियानले सरकारसँग आधिकारिक नक्शा सार्वजनिक गर्न माग गरेको छ ।

अभियानले नयाँ नक्शालाई देशव्यापी बनाउने जानकारी दिएको छ । तत्काल प्रधानमन्त्री केपीशर्मा ओलीलाई भेटेर नक्शा हस्तान्तरण गरी कुटनीतिक पहलबाट समस्या समाधान गर्न अनुरोध गर्ने निर्णय समेत गरिएको जानकारी दिइयो । सार्वजनिक गरिएको नक्शालाई विश्व विद्यालय र विद्यालयका विद्यार्थीहरुका माझ वितरण गरिने अभियानले जनाएको छ ।

Kamana Sewa

अभियानका संयोजक भैरव रिसालले सरकारसँग नक्शा जारी गर्न माग गरे । ‘कि त हामीले तयार पारेको नक्शा बेठिक भन्नुप¥यो कि सार्वजनिक गर्नु प¥यो,’ रिसालले भने, ‘देशको अतिक्रमित भूभाग समावेश गरी राज्यले तत्काल नक्शा सार्वजनिक गरोस् ।’ वर्तमान सरकारले आफ्नै देशको भूभाग समेटेर नक्शा सार्वजनिक गर्न अलमल गरिरहेको भन्दै आलोचना गरे । उनले प्रश्न गरे, ‘देशको नक्शा सार्वजनिक गर्न सरकारलाई केले रोक्यो ?’ सरकारले नक्शा सार्वजनिक गर्न आनाकानी गरेमा देशव्यापी अभियान चलाउने चेतावनी दिए । सरकारलाई जनस्तरबाट व्यापक दबाब सृजना गर्न आग्रह समेत गरे । यस विषयलाई लिएर गाँउगाँउमा कार्यक्रम गर्ने योजना बनाएको जानकारी दिए ।

Classic Tech Desktop

पूर्व सचिव द्धारिका डुंगेलले सरकासँग तत्काल अतिक्रमित भूभाग समावेश गरी नक्शा सार्वजनिक गर्न माग गर्नुभयो । नगरिक स्तरबाट जारी गरेको नक्सा सरकारका मन्त्रीहरु सामु प्रस्तुत गरेर सार्वजकि गर्न माग समेत गरि सकेको बताउनुभयो । नापी विभाग सार्वजनिक गर्न स्वीकारे पनिभूमि सुधार मन्त्रालयले नमानेको कारण अहिलेसम्म नक्सा सार्वजनिक नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री केपीशर्मा आली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको कुराकानीले वैज्ञानिक आधारबाट सीमाको समस्या समाधान गरी निष्कर्षमा पु¥याउने भनिएकोमा त्यसबारे अझै कुनै ठोस पहल किन भइरहेको छैन ?’

परराष्ट्र मन्त्रालय तहबाट दुवै देशबीच भएको पत्राचारलाई अहिलेसम्म सरकारले प्रकाशित नगरकोमा प्रश्न गर्नुभयो । सीमाबचाउने र आफ्नै नक्शाजारी गर्ने मामलामा सरकार उदासिन रहेको भन्दै आलोचना गर्नुभयो । दार्चुलास्थित व्यास गाउँपालिकामा देशभित्रबाट नै पुग्ने बाटो नभएर भारतीय भूमी प्रयोग गर्नुपर्ने वाध्यात्मक अवस्था आउँदा भारतीय सेनाले अप्ठ्यारो पार्ने गरेको भन्दै तत्काल बाटो निर्माणको माग गर्नुभयो । यसबारे गृहमन्त्रालयलाई आग्रह समेत गरिएको उहाँको भनाई थियो ।

प्रा.डा नरेन्द्र खनालले अभियानले जारी गरेको नक्सा सरकारलाई सार्वजनिक गर्नुपर्ने बताउनुभयो । नेपाल र भारतबीचको सीमानामा रहेको सुस्ता ठूलो क्षेत्रफलको रहेको खुलाए । मेची क्षेत्रको सीमा विवादमा भारतले मानी सकेको उहाँको भनाई थियो । तर, पश्चिममा महाकाली क्षेत्रको सीमा विवाद र सुस्ताको विषयअझै समाधान नभएको बताउनुभयो । कालापानी र सुस्ताको विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । सीमा बचाऊ अभियानको कदमले सरकारमाथि दबाब बढ्ने बताउनुभयो ।

वरिष्ठ जलविज्ञ डा. जगतकुमार भुषालले सरकारले नक्शा सार्वजनिक नगरे देशव्यापी अभियानमा जाने बताउनुभयो । देशको अतिक्रमित भूभागसहितको नक्शाका लागि देशव्यापी आन्दोलनमा जान वाध्य हुने बताउनुभयो । देशको भूमी एक इन्च पनि अतिक्रमित हुन नहुने भन्दै कालापानी, लिम्पियाधुरा क्षेत्रका अलावा सुस्ताको अतिक्रमित भूभागसहितको नक्शा सरकारले जारी गर्नुपर्ने बताउनुभयो ।

अभियानको नक्शा समितिका सदस्य कमल बरालले तत्काल सरकारले कालापानी, लिम्पियाधुरा र सुस्तासहितको नक्शा सार्वजनिक गर्नु पर्ने बताउनुभयो । देशको भूभाग अतिक्रमणमा परेरको छर्लंंग हुँदा पनि प्रतिरोध गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो । भारतले नक्शा, भूमि अतिक्रमण हुँदै प्रशासनिक अतिक्रमण गरी तीनतरिकाले अतिक्रमण गरेको भन्दै नेपाल सरकारले पनि यसरी नै तीन तरिकाले प्रतिरोध गर्नुपर्ने बताउनुभयो । नक्शा अतिक्रमणको प्रतिरोधमा नक्शा सार्वजनिक गर्नुपर्ने, भूमि अतिक्रमणको विरुद्धमा सेना परिचालन गर्नुपर्ने र प्रशासनिक अतिक्रमणको प्रतिरोध गर्न विकास निर्माणको काम गर्नुपर्ने माग गर्नुभयो । आफ्नो भूभागमा विकास गर्न भारतसँग सोध्नु नपर्ने भन्दै तत्काल काम अगाडि बढाउन माग गर्नुभयो ।

प्रतिकृया