सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिक समाज र सरकार बिच समन्वय हुनुपर्नेः गंगा लाल सुवेदी
प्रकाशित मिति
२०७६ पुष १२ गते, शनिबार ०९:३३
सुर्तीजन्य पदार्थले गर्दा मानिसहरु लाखौं रुपैंया खर्च हुने र अकालमै मृत्यु हुने हुँदा, सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिक समाज र स्थानिय निकाय बीच सहकार्य हुनुपर्ने कुरा पोखरा महानगरपालिकाका निमित्त कार्यकारी प्रमुख गंगालाल सुवेदीले बताउनु भयो । क्यान्सर काउन्सिल नेपालको आयोजना र नेपाल टेलिकमको सहकार्यमा पोखरा महानगरपालिकामा सम्पन्न अन्तरक्रिया तथा जनचेतना कार्याक्रममा निमित्त कार्यकारी प्रमुख सुवेदीले कार्यक्रममा सहभागी स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य कर्मीहरुलार्य सुर्तीजन्य पदार्थबाट मानिसहरुलाई जोगाउनको लागि सचेत गराउनु पर्ने कुरा राख्नु भयो । उहाँले नेपाल टेलिकमले सुर्तीजन्य पदार्थ रोकथामको लागि क्यान्सर काउन्सिल नेपालसँगको सहकार्यलाई प्रशंसा गर्नुभयो ।

विर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णु दत्त पौडेलले सुर्तीजन्य पदार्थ नै सम्पूर्ण रोगहरुको प्रमुख कारण भएकोले यसका लागि रोकथामको लागि जोड दिनुपर्ने धारणा राख्नु भयो । उहाँले फ्रान्समा सन् २०१७ मा दश लाख मानिसहरु सुर्तीजन्य पदार्थ त्यागेको उदाहरण दिदै कम्तीमा एक जना सहभागीले एक जनालाई सुर्तीजन्य पदार्थ सेवनबाट जोगाउन सकेमा ठूलो उपलब्धी हुने कुरा राख्नु भयो । उहाँका अनुसार सुर्तीजन्य पदार्थबाट मानिसलाई जोगाउनको लागि परिवारको ठूलो भूमिका हुने प्रष्ट पार्नु भयो । उहाँले क्यान्सर रोगको कारण, लक्षण र रोकथामको उपायहरुको बारेमा जानकारी दिदै शुरुको अवस्थामा क्यान्सर रोग पहिचान गर्न सकेमा निको हुने जानकारी गराउनु भयो । क्यान्सर रोगबाट बच्नको लागि हामीले विशेष सावधानी अपनाउनु पर्ने कुरा उहाँले प्रष्ट पार्नु भयो ।

क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले संस्थाले देशव्यापी रुपमा सुर्तीजन्य पदार्थ रोकथामको लागि अभियान संचालन गरेको बताउनु भयो । विकसित देशमा जनचेतनाको कारण मानिसहरु सुर्तीजन्य पदार्थबाट टाढै रहने कुरा उल्लेख गर्नु भयो । कडरियाका अनुसार साथीभाईको नकारात्मक प्रभाव र पर्याप्त जनचेतनाका अभावले गर्दा किशोर किशोरीहरु सुर्तीजन्य पदार्थबाट प्रभावित भएको र कालान्तारमा उनीहरुले लागु पदार्थको सेवन गर्ने गरेको देखिन्छ । यसले गर्दा समाजमा उनीहरु अपराधिक क्रियाकलापमा सहभागी हुने अध्ययन देखाउँछ । नेपाल टेलिकमका प्रतिनिधी महेन्द्र प्रसाद रिमालले नेपाल टेलिकमले दुरसंचारको क्षेत्रमा व्यापार व्यावसायको साथै सामाजिक काममा गर्दै आएको र आगामी दिनमा पनि सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा सहकार्य गर्ने प्रतिवद्धता जनाउनु भयो ।






प्रतिकृया