• ४ असोज २०८३, आइतबार
  • १२ः५६ दिउँसो

अपहरणमा परेका अध्यक्ष शाही मुक्त

प्रकाशित मिति

२०७६ पुष ७ गते, सोमबार ०७:२९

काठमाडौँ, ७ अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही मुक्त भएका छन्। उनी शनिबार मध्यरातमा ओछ्यानबाटै अपहरणमा परेका थिए। उनलाई प्रहरीले कालिकोटको शुभकालिका गाउँपालिकाको वडा नम्बर १ स्थित छात्तिको जंगलबाट अपहरणमुक्त गराएको हो।

National Life

अध्यक्ष शाहीलाई विप्लव समूहले उनको घरबाटै अपहरण गरेको थियो। उनको खोजीका लागि आइतबार बिहानैबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो। त्यहीक्रममा आइतबार साँझ उनलाई अपहरणबाट मुक्त गराउन प्रहरी सफल भएको हो। करिब १३ घण्टा लगाएर अध्यक्ष शाहीलाई अपहरणमुक्त गराइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। अध्यक्षको खोजीका लागि दैलेख, अछाम र कालिकोटका प्रहरी परिचालन गरिएको थियो। ‘हामीले १३ घण्टा लगाएर उहाँलाई अपहरणमुक्त गराएका छौं, खोजीका लागि एक सय ६० जना प्रहरी खटिएका थिए’ कर्णाली प्रदेश प्रहरी कार्यालयका डीआईजी पूर्णचन्द्र जोशीले भने,‘ हाम्रो लामो प्रयासपछि अध्यक्ष शाही हाम्रो सम्पर्कमा आउनु भएको छ।’

सोहीक्रममा विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। प्रहरीले गोली चलाएपछि विप्लवका कार्यकर्ता भागेको र अध्यक्ष शाहीलाई उद्दार गरिएको डीआईजी जोशीले जानकारी दिए। यद्यपि त्यसक्रममा कुनै क्षति भने नभएको उनको भनाइ छ। विप्लव समूहले आफ्नो पार्टीविरुद्ध सुराकी गरेको र गाउँपालिकामा आएको बजेटमा अनियमितता गरेको भन्दै अध्यक्ष शाहीलाई नियन्त्रणमा लिइएको जनाएको छ। सोधपुछका लागि नियन्त्रणमा लिइएको भने पनि प्रहरीले गोली चलाएपछि विप्लव समूहका कार्यकर्ता अध्यक्ष शाहीलाई छाडेर भागेका थिए। जंगलमा अध्यक्ष शाहीलाई कहाँ लैजाने भन्ने विषयमा विप्लव समूहका कार्यकर्ताबीच छलफल हुँदै गर्दा आफूले घेरा हालेको प्रहरीको भनाइ छ। गाउँपालिका अध्यक्ष अपहरणमा परेपछि उनको खोजीका लागि स्थानीयहरु पनि खटिएका थिए। दिनभरको प्रयासपछि प्रहरी उनलाई छुटाउन सफल भएको हो। अध्यक्ष शाही अपहरणमुक्त भएको जिल्ला प्रशासन कार्यालय कालिकोटले पनि पुष्टी गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

अध्यक्ष शाही र उनकी पत्नी इला मल्ल शाही शनिबार आफ्नै घरमा सुतिरहेका थिए। राती १२ बजेतिर हतियारधारी समूहले एक्कासी ढोका ढक्ढक्यायो। बारम्बार ‘ढोका खोल्नुस्’ भन्ने आवाज सुनेपछि अध्यक्षकी पत्नी इलाले ढोका खोलिन्। करिब १५ जनाको समूह घरभित्र पस्यो। अध्यक्ष भने शाही सुतिरहेका थिए। त्यहीक्रममा ‘तपाइँसँग केही सोध्नु छ’ भन्दै उक्त समूहले अध्यक्ष शाहीलाई साथमा लिएको थियो। हतियारसहित आएको समूहले जबरजस्ती पतिलाई लिएपछि पत्नी इला पनि साथमै गएकी थिइन्। तर उक्त समूहले साथमा नआउन र भनेको नमाने ‘जे पनि हुने’ भनेपछि इला पछाडि हटिन्। उनलाई पनि आइतवार विहान स्थानीयले कालिकोटको सिमाना नजिक जंगलमा भेटाएका थिए।
अन्नपूर्ण पोष्ट्बाट साभार ।

प्रतिकृया