बंगलादेशमा अब विवाह दर्ता फारम भर्दा कुमारी लेख्न नपर्ने
प्रकाशित मिति
२०७६ भाद्र ११ गते, बुधबार ०७:१५
ढाका । बंगलादेशका महिलाले अब विवाह दर्ता फारम भर्दा कुमारी (भर्जिन) भनेर लेख्न नपर्ने भएको छ । बंगलादेशको सर्वोच्च अदालतले सो सम्बन्धी फैसला गरेको हो । सर्वोच्च अदालतले ‘भर्जिन’ भन्ने शब्दको स्थानमा अनम्यारिड (अविवाहित) शब्द राख्न आदेश दिएको छ । सो सम्बन्धी फैसला गएको आइतबार भए पनि मंगलबार सार्वजनिक गरिएको हो ।
फारमका अन्य दुई विकल्पमा विडो (विधवा) र डिभोर्सड (सम्बन्ध विच्छेद)लाई भने यथावत राखिएको छ । महिला अधिकारकर्मीहरुले ‘भर्जिन’ भन्ने शब्द अपमान गर्ने खालको भएको आरोप लगाउँदै आएका थिए । उनीहरुले आइतबारको फैसलाको स्वागत गरेका छन् । अदालतले अब श्रीमानले पनि आफ्नो वैवाहिक अवस्था खुलाउनुपर्ने आदेश दिएको छ । मुश्लीम बहुल बंगलादेशमा विवाह सम्बन्धी कानुनलाई महिला अधिकारकर्मी समूहले प्रतिबन्धात्मक र विभेदकारी भनेर आलोचना गर्दै आएको थियो । थुप्रै बालिकाहरुलाई सानो उमेरमा नै मागी विवाह गर्न बाध्य पारिने चलन रहेको छ । अदालतले बंगाली शब्द कुमारीलाई फारमबाट हटाउन भनेको छ ।





प्रतिकृया