म सिकिस्त भएजस्तै हावा समाचार फैलाइयो : प्रधानमन्त्री ओली
प्रकाशित मिति
२०७६ श्रावण ३१ गते, शुक्रबार ०२:४१
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ज्वरो आएर आराम गर्दा सिकिस्त बिरामी जस्तो पाराले बाहिर हावा समाचार बनेको बताउनु भएको छ ।
गृहजिल्ला झापाका जनप्रतिनिधि तथा पार्टी कार्यकर्ताहरुसँग शुक्रबार बालुवाटारमा भेटेका ओलीले आफू तन्दुरुस्त रहेको र आफुलाई अझै २०र२५ वर्ष केही नहुने डाक्टरले भनेको पनि जानकारी गराउनु भएको छ ।
प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘हिजो मलाई एकछिन ९९ देखि १०० डिग्री ज्वरो आएको थियो। एउटा सिटामोल खाइदिए पछि सबै निको भयो। तर म सिकिस्त भएजस्तै फैलाइयो । गत हप्ता सिंगापुरमा आँखा, कान, घाँटी र बुढी औंलादेखि कान्छी औंलाका नङसम्म परीक्षण गरेर आएको छु। डाक्टरले सबै अंग ठीक छ भनेका छन्। अब २०–२५ वर्ष केही हुँदैन भन्छन्। त्यसकारण म बिरामी होइन।’
प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘म अहिले होइन ,१५ वर्षअघि बिरामी थिएँ। १२ वर्षअघि मृगौला प्रत्यारोपण गरेको हुँ। त्यही कहानीलाई अहिले प्रचार गरिएको छ,’ उनले थप्दै भने, ‘मलाई बिरामी नै भन्ने हो भने पनि म बिरामी हुँदाहुँदै चुनावमा मोर्चा बनाएर पार्टीलाई सफलता दिलाएँ। बिरामी हुँदाहुँदै बहुमत दिलाएँ। सरकार बनाएँ र बिरामी हुँदा हुँदै पार्टी एकिकरण गरें।’
यसअघि प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य परीक्षण गराएर सोमबार स्वदेश फर्किनु भएको थियो ।






प्रतिकृया