प्रधानमन्त्री ओलीको दोस्रो पटक मृगौलाको डायलाइसिस गरिँदै
प्रकाशित मिति
२०७६ कार्तिक १४ गते, बिहीबार १०:४०
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक आज मृगौलाको डायलाइसिस गरिँदैछ ।बुधबार प्रधानमन्त्री ओलीको पहिलो डायलाइसिस गरिएको अस्पताल स्रोतले जनाकारी दिएको छ । डायलाइसिस सकेर प्रधानमन्त्रीलाई केहीबेर आइसियुमा राखिएको थियो ।
साँझ भने उहाँलाई क्याबिनमा सारिएको थियो । प्रधानमन्त्रीको रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलासिस गरिएको हो । पिसाब राम्ररी नभएर शरीरमा पानीको मात्रा धेरै भएको चिकित्सकले बताएका छन् ।
‘एन्टीबडी’ भनेको शरीरलाई बाहिरी तत्त्वबाट जोगाउन उत्पादन गरिने एक प्रकारको लडाकु कोष हो । चिकित्सकका अनुसार १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीको शरीरमा एन्टीबडी घटाउन प्लाज्माफेरेसिस गरिनु सामान्य प्रक्रिया नै थियो । प्लाज्माफेरेसिस पद्धतिमा शरीरबाट रगतलाई नलीको माध्यमबाट ‘एफेरेसिस’ मेसिनमा पठाइन्छ ।
मेसिनले धेरै मात्रामा रहेको एन्टीबडी निकालेर रगत पुनः शरीरमै पठाउँछ । एन्टीबडी फेरि बढ्न नदिन केही औषधि दिइन्छ । त्यो औषधिले राम्रो काम गरे तत्काललाई मिर्गौला प्रत्यारोपण गर्नुपर्दैन । तर, एन्टीबडी उत्पादन नियन्त्रण नभए प्रत्यारोपणको विकल्प हुँदैन । उक्त औषधिले कहिलेकाहीँ सकारात्मक असर देखाउँछ भने कहिले थप जटिलता पनि निम्त्याउन सक्ने चिकित्सकको भनाइ रहेको छ।
चिकित्सकहरुले मिर्गौला प्रत्यारोपण गरिएका बिरामीमा ११–१२ वर्षपछि यस्तो समस्या देखिनु सामान्य नै रहेको बताएका छन । प्रधानमन्त्री ओलीलाई पहिलो पटक सिंगापुर लगिनुअघि साउन १० गते शुक्रबार सैनिक अस्पताल छाउनीमा नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ‘रेलन बायोप्सी’ गरिएको थियो । त्यही रिपोर्टका आधारमा उहाँलाई सिंगापुर लैजाने निर्णय भएको थियो । प्रधानमन्त्री ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको
मिर्गौलाले रगत सफा गर्न नसक्ने भएपछि मेसिनको सहायतामा रगतमा भएका फोहोर तत्त्व, शरीरलाई चाहिनेभन्दा बढी मात्रामा रहेको नुन र पानी बाहिर फालेर रक्तचाप नियन्त्रणमा राख्न गरिने प्रक्रिया नै डायलाइसिस हो । यो दुई प्रकारको हुन्छ ।
पहिलो, हेमोडायलाइसिस । यसमा रगतलाई नलीको माध्यमबाट कृत्रिम मिर्गौला मेसिनमा पठाइन्छ र शुद्धीकरण गरेर पुनः नलीका माध्यमबाट शरीरमै फिर्ता गरिन्छ । दोस्रो, पेरिटोनियल डायलाइसिस । यसमा आफ्नै पेटको भित्री सतहको सहायतामा रगतलाई डायलाइसेट नामक तरल पदार्थको माध्यमबाट शुद्ध पारिन्छ ।
सामान्यतया मिर्गौलाको कार्यक्षमता १५ प्रतिशतभन्दा कम भएपछि डायलाइसिस गरिन्छ । मिर्गौलाको कार्यक्षमतामा ह्रास आउँदा बिरामीलाई अत्यधिक रिंगटा लाग्ने, बान्ता हुने, सुन्निने र आलस्य महसुस हुन्छ । कहिलेकाहीं पूर्वलक्षण नदेखिन पनि सक्छ ।सामान्यतया मिर्गौलाले पूर्ण रूपमा काम गर्न छोडे हप्ताको ३ पटकसम्म अस्पतालमै लगेर डायलाइसिस गरिन्छ । एकपटक डायलाइसिस गर्न करिब ४ घण्टा लाग्छ ।






प्रतिकृया