जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ : मन्त्री श्रेष्ठ
प्रकाशित मिति
२०८३ आश्विन ५ गते, सोमबार १०:०४
५ असोज २०८३ काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको बताएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुग्दा करिब १० प्रतिशत विद्युत् प्रणालीबाट बाहिर गएको बताए ।
त्यसले राष्ट्रिय प्रसारण लाइनमा चाप परेको भए पनि नेपाल विद्युत् प्राधिकरणले प्रसारण प्रणालीमा सन्तुलन कायम गरिरहेको उनको भनाइ छ ।मन्त्री श्रेष्ठले जाडोयाममा विद्युत् माग बढ्ने भएकाले आपूर्ति व्यवस्थापनका लागि अहिले नै प्राविधिक तयारी भइरहेको बताए । विशेषगरी जाडोका दुई महिनामा विद्युत् माग बढी हुने भएकाले सम्भावित जोखिम र प्रसारण लाइनको अवस्थाबारे अध्ययन तथा व्यवस्थापनको काम भइरहेको उनले बताए ।
उनले भने, ‘अब जोडिने प्रसारण लाइन कस्तो छ, अरू ठाउँमा पनि सम्भावित रूपमा जोखिम छ । त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने छलफल भएको छ । तैपनि जाडो महिनामा पनि अहिलेजस्तै विद्युत् आपूर्तिलाई सन्तुलित राख्न हामीले वर्कआउट गरिरहेका छौँ ।’
मन्त्री श्रेष्ठका अनुसार बाढी प्रभावित नुवाकोटमा २४ घण्टाभित्र विद्युत् सेवा पुनः सञ्चालन गरिएको थियो भने रसुवामा पनि हालै विद्युतीकरण गरिएको छ । आगामी सुक्खायाममा विद्युत् आपूर्ति कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा प्राविधिक रूपमा तयारी भइरहेको उनले बताए । प्रसारण लाइनबाट विद्युत् बाहिर जाँदा उत्पन्न हुन सक्ने असहज अवस्थालाई ध्यानमा राखेर आपूर्ति सन्तुलनका लागि आवश्यक गृहकार्य भइरहेको उनको भनाइ छ ।






प्रतिकृया