प्रधानमन्त्री र तीन दलका शीर्ष नेताबीच भोलि भेटवार्ता, यस्ता छन् छलफलका मुख्य विषय
प्रकाशित मिति
२०८२ पुष ११ गते, शुक्रबार ११:२९
११ पुस,२०८२ काठमाडौं— प्रधानमन्त्री सुशिला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच शनिबार निर्वाचनबारे छलफल हुने भएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा शीतलनिवासमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच भएको भेटवार्ताको निरन्तरतास्वरूप उक्त छलफल हुन लागेको हो।
शुक्रबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका छन्। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि भेट्ने कार्यक्रम रहेको छ। मन्त्री खरेलको सचिवालयका अनुसार शनिबार दिउँसो ४ बजे प्रधानमन्त्री कार्की र तीन दलका शीर्ष नेताबीच भेटवार्ता तथा छलफल तय गरिएको छ।
सरकारले फागुन २१ गते निर्वाचन गर्ने तयारी गरे पनि दलहरूले शान्ति सुरक्षा लगायतका विषयमा प्रश्न उठाउँदै आएका छन्। खासगरी नेकपा एमालेले सुरक्षा व्यवस्थामाथि चासो व्यक्त गरिरहेका बेला सरकारका मन्त्रीहरू नेताहरू तथा पार्टी कार्यालय पुगेर निर्वाचनको वातावरण बनाउन सक्रिय देखिएका छन्।






प्रतिकृया