सिमरा विमानस्थल घटना संवेदनशील : रास्वपाको सरकारलाई ध्यानाकर्षण
प्रकाशित मिति
२०८२ मंसिर ३ गते, बुधबार ०४:२८
मंसिर ३, २०८२ काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार बाराको सिमरा विमानस्थलमा भएको घटनालाई संवेदनशील बताउँदै सरकारको तात्कालिक ध्यानाकर्षण माग गरेको छ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी केन्द्रीय कमिटी बैठकले सिमरामा उत्पन्न परिस्थिति राजनीतिक स्वतन्त्रता र सुरक्षासँग प्रत्यक्ष सम्बन्धित भएको निष्कर्ष निकालेको हो।
पार्टी प्रवक्ता मनिष झाले कुनै पनि राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्ने संवैधानिक अधिकार रहेको उल्लेख गर्दै सरकार जिम्मेवार भएर आवश्यक सुरक्षा सुनिश्चित गर्न बाध्य रहेको बताए।
उनका अनुसार, “निर्वाचनको माहोल बनाउन राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्छ र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्छ। आज सिमरामा भएको घटना संवेदनशील छ। यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर सरोकार र सरकारको आवश्यक ध्यानाकर्षण माग गर्दछौं,” रास्वपाको बैठक निष्कर्षमा भनिएको छ।
रास्वपाको केन्द्रीय कमिटी बैठक हाल पनि जारी रहेको जनाइएको छ।






प्रतिकृया