• ५ असोज २०८३, सोमबार
  • १०ः२२ बिहान

नेतृत्व परिवर्तनको बहस ‘घाउमा नुन छर्ने’ काम हो : कांग्रेस प्रवक्ता डा. महत

प्रकाशित मिति

२०८२ आश्विन ५ गते, आईतवार १२:३४

असोज ५, २०८२ काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवामाथि भएको सांघातिक आक्रमणपछि नेतृत्व परिवर्तनको बहस गर्नु “घाउमा नुन छर्ने” कार्य भएको टिप्पणी गरेका छन्।

National Life

आइतबार महाराजगञ्जस्थित आफ्नै जलेको घरमा पत्रकार सम्मेलन गर्दै डा. महतले हाल पार्टीको एकता र सभापति देउवाको स्वास्थ्य प्राथमिकता हुनुपर्ने बताए। उनले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूको नेतृत्व परिवर्तनको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै, “घाउ निको नहुँदै नेतृत्व खोज्नु” गलत भएको बताए।

“तत्काल नेतृत्व परिवर्तनको कुरा गर्नेहरू त्यतिबेला सबैभन्दा नजिकका साथीहरू हुनुहुन्थ्यो,” महतको कटाक्ष थियो, “अहिले एक हुने बेला हो। तर घाउ लागेको बेलामा घाउमा नुन छर्ने प्रवृत्ति गलत हो।”

Classic Tech Mobile
Classic Tech Desktop

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले बुढानीलकण्ठस्थित निवासमै पसेर कांग्रेस सभापति देउवा र उनकी पत्नी तथा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि कुटपिट गरेका थिए। देउवाको गर्दनमा गम्भीर चोट लाग्नुका साथै टाउकोमा १२ टाँका लगाइएको छ। हाल दुवै सेनाको सुरक्षा घेरामा उपचाररत छन्।

डा. महतले यस्तो “त्रासदीपूर्ण हमला” भएको बेलामा नेताहरूले संवेदनशीलता देखाउनु आवश्यक भएको भन्दै, आन्तरिक खिचातानी होइन, एकता आवश्यक रहेको बताए। “कांग्रेसभित्र पनि बहस हुन सक्छ, तर अहिलेको घडी आपसी विवाद होइन, एकता र संगठन सुदृढीकरणको हो,” उनले भने। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको शैलीप्रति पनि आलोचना गर्दै कांग्रेसले सधैं लोकतन्त्रको पक्षमा उभिएको स्मरण गराए। डा. महतको भनाइ अनुसार, अहिलेको अवस्थामा नेतृत्व परिवर्तनको बहस गर्नु विभाजनकारी प्रवृत्तिको संकेत हो र त्यसले पार्टीलाई कमजोर बनाउने खतरा रहन्छ।

प्रतिकृया