नेपाल बारद्वारा अदालतका विवादास्पद फैसलाको अध्ययन गर्न समिति गठन
प्रकाशित मिति
२०८२ भाद्र ११ गते, बुधबार ०९:४३
भदौ ११,२०८२ काठमाडौं – कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतसहित विभिन्न अदालतहरूले गरेका केही विवादास्पद र नजीरविरोधी फैसलाहरूको अध्ययन गर्न समिति गठन गरेको छ।
बारको कार्यसमितिको निर्णयअनुसार वरिष्ठ अधिवक्ता तथा पूर्व न्यायपरिषद् सदस्य उपेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा पाँच सदस्यीय अध्ययन समिति गठन गरिएको हो। समितिमा डा. सुष्मा बास्कोटा बराल, श्रीकान्त बराल, सानुभाइ शाक्य र माधवकुमार बस्नेत सदस्यका रूपमा रहेका छन्।
बार अध्यक्ष विजय मिश्रका अनुसार कानूनी सिद्धान्तसँग मेल नखाने, नजीर र व्यवहारसँग बाझिएका तथा विवादास्पद फैसलाहरूको गहिरो अध्ययन गर्न समिति बनाइएको हो। “समितिले आफैं फैसलाहरू चयन गरेर नियमित रूपमा अध्ययन गर्छ र प्रतिवेदन पेश गर्छ,” अध्यक्ष मिश्रले भने।
बार निर्वाचनअघि लोकतान्त्रिक र प्रगतिशील दुबै समूहले यदि निर्वाचित भएमा यस्तो समिति बनाउने घोषणा गरेका थिए। ३० साउनमा गरिएको निर्णय मंगलबार सार्वजनिक गरिएको हो।






प्रतिकृया