निलम्बन फुकुवा गरिदिन भन्दै रवि लामिछानेले दिए सभामुखलाई निवेदन
प्रकाशित मिति
२०८१ माघ १८ गते, शुक्रबार १२:५२
माघ १८, २०८१ काठमाडौँ: सांसद पद निलम्बन फुकुवाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् ।
संसद्को हिउँदे अधिवेशन शुरू हुने दिन शुक्रबार बिहान लामिछानेले सभामुखसँग भेट गर्दै उक्त निवेदन दिएका हुन् । अदालतले पुर्पक्षमा थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पदबाट निलम्बन हुनुपर्नेमा त्यस्तो नभएको निवेदनमा उल्लेख छ ।
केहिबेरअघि लामिछाने सभामुख घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेका थिए । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा लामिछानेले निलम्बन फुकुवा गरेर संसद्को बैठकमा सहभागी हुने वातावरण मिलाइदिन आग्रह गरेका छन् । कास्की जिल्ला अदालतमा सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा लागेपछि लामिछानेको सांसद पद निलम्बनमा परेको थियो ।
निवेदनमा लामिछानेले आफू जिल्ला अदालतबाट धरौटीमा थुनामुक्त भएकोले निलम्बन फुकुवाको माग गरेका छन् । सहकारी ठगीको अनुसन्धानका शिलशिलामा कात्तिक २ गते पक्राउ परेका लामिछानेको सांसद पद मुद्दा दर्ता गरेको दिन पुस ८ गतेदेखि निलम्बनमा परेको थियो ।
कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतले सहकारी ठगीमा लामिछानेको संलग्नता नरहेको भन्न सकिने आधार नदेखिएको भन्दै धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
कास्कीका ६५, काठमाडौंमा ६० र रुपन्देहीमा १ करोड धरौटी तिरेर लामिछाने रिहा भएका थिए ।






प्रतिकृया