काठमाडौँ–ललितपुरका नौ उद्योग–फार्ममाथि विभागद्वारा कारबाही
प्रकाशित मिति
२०८२ मंसिर १६ गते, मंगलवार ०९:२४
मंसिर १६, २०८२ काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार काठमाडौँ र ललितपुरमा सञ्चालन भइरहेका नौ वटा उद्योग–फार्ममाथि बजार अनुगमनका क्रममा कारबाही गरेको छ। चाडपर्वमा मात्र अनुगमन हुने गरेको आलोचनापछि विभागले हाल देशभर स्थानीय प्रशासन तथा सम्बन्धित निकायको समन्वयमा निरीक्षण तीव्र पारेको हो।
विभागका अनुसार ललितपुर–१५ कुमरीपाटीस्थित युएफओ पाटन र काठमाडौँ–१५ चमतीस्थित रेग्मी व्याग उद्योगलाई बिल–बिजक नराखेको अभियोगमा २०–२० हजार रुपैयाँ जरिवाना गरिएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ अनुसार बिल–बिजक नबनाई गरिएको कारोबार कसुर मानिँदा दण्डित गरिएको विभागले जनाएको छ।
त्यस्तै, सोही व्यवस्थाविपरीत क्रियाकलाप गरेको पाइएका योगेन्द्र साडी भण्डारमाथि पनि कारबाही गरिएको छ। दफा ३९(१) अनुसार अनुगमनका क्रममा कसुर भेटिएमा पाँच हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ।
अनुगमनका क्रममा मानसरोवर इन्टरप्राइजेज र रविशङ्कर स्टोरलाई आवश्यक कागजात सहित तीन दिनभित्र विभागमा हाजिर हुन निर्देशन दिइएको छ। साथै अन्य पाँच फार्मलाई सामान्य सूचना र निर्देशन जारी गरिएको विभागले जनाएको छ।






प्रतिकृया