• ४ असोज २०८३, आइतबार
  • १ः३७ दिउँसो

अर्थमन्त्री पौडेलसँग विश्व बैंक उपाध्यक्ष जुटको भेट : आर्थिक वृद्धि र लगानीमा सहयोग प्रतिबद्धता

प्रकाशित मिति

२०८२ भाद्र १७ गते, मंगलवार ०१:२५

भदौ १७,२०८२ काठमाडौं – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ। भेटमा अर्थतन्त्र, शहरी पूर्वाधार, लगानी, पर्यटन र वातावरणसम्बन्धी विषयमा छलफल भएको थियो।

National Life

अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका प्रमुख सूचकमा सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत र कार्यान्वयन प्रक्रियामा सुधार गरेको बताए। उनले विश्व बैंकले तयार पारेको आगामी ६ वर्षे कन्ट्री पार्टनरसीप फ्रेमवर्क नेपालको विकास आवश्यकतासँग मेल खाने भएकाले त्यसअनुसारका आयोजना तथा कार्यक्रम कार्यान्वयनमा विश्व बैंकसँग सहकार्य गर्न चाहेको बताए।

पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा छलफलमा रहेको जानकारी दिँदै विधेयक पारित भएपछि निजी क्षेत्रसँग सहकार्य गरी प्रतिफल दिने आयोजनामा लगानी गर्ने योजना रहेको उल्लेख गरे।

Classic Tech Mobile
Classic Tech Desktop

विश्व बैंकका उपाध्यक्ष जुटले नेपालको उच्च आर्थिक वृद्धिदर कायम राख्न विश्व बैंक सहयोग गर्न तत्पर रहेको बताए। उनले लुम्बिनी र काठमाडौं उपत्यकामा शहरी पूर्वाधार, वातावरणीय प्रदूषण न्यूनीकरण र आर्थिक वृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड दिए।

उपाध्यक्ष जुटले वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी कानूनको कार्यान्वयनसँगै पूर्वाधार क्षेत्रमा नयाँ लगानी अवसरहरू सिर्जना हुने विश्वास व्यक्त गर्दै लगानी र उत्पादकत्व वृद्धिमा केन्द्रित रहन सुझाव दिएका छन्।

प्रतिकृया