प्रधानमन्त्री ओलीको आज मोदीसँग भेटवार्ता हुँदै
प्रकाशित मिति
२०८१ चैत्र २२ गते, शुक्रबार ०८:०१
चैत्र २२, २०८१ काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् ।
हाल थाईल्यान्डको भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) शिखर सम्मेलनका क्रममा मोदीसँग साइडलाइन भेटवार्ता हुने भएको हो ।

प्रधानमन्त्री ओलीले आज अपराह्न भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्ने तय भएको छ । प्रधानमन्त्री ओलीले यसअघि बिहीबार श्रीलंका, भुटान, म्यानमारका सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

नेपालमा ओली प्रधानमन्त्री भएको साढे ८ महिना भएको छ । तर, अहिलेसम्म ओलीले भारतीय प्रधानमन्त्री मोदीका तर्फबाट भारत भ्रमणको निमन्त्रणा पाएका छैनन् । यसअघि पुष्पकमल दाहाल प्रचण्ड र त्यसअघि शेरबहादुर देउवाले भारतको भ्रमण गरेका थिए । ओलीको भारत भ्रमण हुन नसक्नुलाई भारतसँगको सम्बन्धमा चिसोपन आएको रूपमा हेरिँदै आएको छ ।
त्यसकारण पनि थाइल्यान्डमा ओली र मोदीबीच हुने भेट राजनीतिक रुपमा बहुप्रतीक्षित बनेको छ । प्रधानमन्त्री भएको तीन महिनापछि ओलीले गत असोजमा संयुक्त राष्ट्रसंघको ७९औं महासभाका क्रममा न्युयोर्कमा मोदीसँग साइडलाइन भेटवार्ता गरेका थिए ।




प्रतिकृया