स्ववियु निर्वाचनः उम्मेदवारहरु कसको एजेण्डा के ?
प्रकाशित मिति
२०८१ चैत्र २ गते, शनिबार ०६:३८
चैत्र २, २०८१ काठमाडौँ: स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आसन्न निर्वाचनलाई लिएर रिपोर्टर्स क्लब नेपालले विभिन्न विद्यार्थी संगठनका नेताहरुसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा सहभागी विद्यार्थी नेताहरुले विश्वविद्यालय सुधार, विद्यार्थीका माग र मुद्दाहरु आफ्नो चुनावी एजेण्डाको रुपमा अगाडि सारेका छन् ।
नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूबाट बानेश्वर बहुमुखी क्याम्पस स्ववियु सभापतिकी उम्मेदवार प्रमिला लामाले विद्यार्थीहरुलाई सेवा गर्ने मौका गुमाउन हुँदैन भनेर आफूले उम्मेदवारी दिएको बताईन् । विगतमा पनि आफूले विद्यार्थीको हक र हितको पक्षमा आवाज उठाइरहेको बताउँदै उनले आगामी दिनमा अझै राम्रो काम गरेर क्याम्पसको शैक्षिक वातावरणलाई राम्रो बनाउन आफूलाई जिताउन उनले आग्रह गरिन् ।
नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगन अखिल (क्रान्तिकारी) विश्वविद्यालय क्याम्पस टियूका स्ववियु सभापतिका उम्मेदवार प्रविन दाहालले आफू विद्यार्थीको एजेण्डामा विगतदेखि नै परिचित रहेको बताए । समाजवाद उन्मुख राष्ट्रमा समाजवादी शिक्षा हुनुपर्ने आफ्नो एजेण्डा रहेको उनले सुनाए । डिजिटल टीयू, स्मार्ट डे, लर्निङ एण्ड अर्निङ प्रोगामलगायत आफ्नो चुनावी एजेण्डा रहेको बताए ।
त्यसैगरी, एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियू, पुल्चोक क्याम्पसबाट स्ववियु सभापतिका उम्मेदवार आयुष सापकोटाले आफू अध्ययन गर्ने कलेजमा प्राध्यापकहरुकै गुण्डागर्दी रहेको बताए । प्राध्यापकहरु क्लासमा पढाउन नआउने र अहिलेसम्म कुनै पनि स्ववियु सभापतिले यसबारेमा आवाज नउठाएको उनकाले आरोप छ । आफ्नो सबैभन्दा पहिलो एजेण्डा शैक्षिक सुधार नै रहेको उनले बताए ।
अनेरास्ववियू सरस्वती बहुमुखी क्याम्पसबा स्ववियु सभापतिका उम्मेदवार हर्कबहादुर तामाङले अहिले सो क्याम्पसमा करिब ८ हजार विद्यार्थी अध्ययनरत रहेको बताए । तर, सो क्याम्पसमा २०७२ सालको भूकम्पले भत्किएको भवन अहिलेसम्म निर्माण नभएको, रातो स्टिकर टाँसिएको भवनमा पढाइ भइरहेको उनले बताए । आफू र आफ्नो टिम स्ववियू सभापतिमा निर्वाचित भएको खण्डमा भौतिक संरचना निर्माणका लागि पहल गर्ने, दवाब दिने र लाइब्रेरी, प्रयोगशाला, ल्याबहरुलाई व्यवस्थित बनाउन पहल गर्ने उनले बताए ।
नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, पद्मकन्या बहुमुखी क्याम्पसबाट स्ववियु सभापतिकी उम्मेदवार भूपि ऐरले क्याम्पसलाई अझ विद्यार्थीमैत्री बनाउने आफ्नो एजेण्डा रहेको बताईन् । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि आफ्नो एजेण्डाहरु महत्वपूर्ण रहेको बताईन् । उनले कलेजमा नेतृत्वको कमी रहेको, कम्युनिकेशन सेन्टर नरहेको बताईन् । यी कुराहरु सुधारको पहल गरिने उनले बताईन् । नेतृ ऐरले शिक्षा, स्वास्थ्य, होस्टेललाई गुणस्तरीय र सर्वसुलभ बनाउने आफ्नो एजेण्डा रहेको बताईन् ।
अखिल (क्रान्तिकारी) जनप्रशासन क्याम्पसबाट स्ववियु सभापतिका उम्मेदवार अनिकेत तिवारीले आफ्नो चुनावी एजेण्डा शैक्षिक सुधार नै रहेको बताए । क्याम्पस प्रशासनले थेशिसको बेलामा विद्यार्थीहरुलाई धेरै दुःख दिइरहेको उनले बताए । आफू स्ववियू सभापतिमा निर्वाचित भएको खण्डमा थेशिसमा अहिले रहेको समस्या समाधानको लागि पहल गर्ने बताए । जनप्रशासन क्याम्पसमा आफूले पोलिसी ल्याब बनाउन चाहेको पनि उनले सुनाए ।
नेपाल कमर्श क्याम्पस, अखिल (क्रान्तिकारी) बाट स्ववियु सभापतिका उम्मेदवार काशीराम जैशीले पुस्तकविनाको लाइबे्ररीको ¥याक, पानीविनाको शौचालय, राजनीति गरिरहेका प्राध्यापक आफ्नो क्याम्पसको मूल समस्या रहेको बताए । उनले आफूले देखेका यी समस्या समाधान र क्याम्पसलाई उत्कृष्ट बनाउन उम्मेदवार बनेको बताए । उजाड क्याम्पसलाई देशकै उत्कृष्ट बनाउने जिम्मा आफ्नो काँधमा छाडिदिन उनले आग्रह गरे ।
अखिल (क्रान्तिकारी), बानेश्वर बहुमुखी क्याम्पसबाट स्ववियू सभापतिका उम्मेदवार भूमिराज अधिकारीले विद्यार्थीहरुका विविध समस्या समाधानको एजेण्डा बोकेर आफू चुनावी मैदानमा होमिएको बताए । उनले विगतमा पनि आफू र आफ्नो संगठनले बानेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीहरुको समस्या समाधानको लागि आवाज उठाउँदै आएको बताए । अहिले बानेश्वर क्याम्पसमा विभिन्न प्रकारका विकृति रहेको र त्यसलाई उजागर गर्दै समस्या समाधानको पहल गरिने उनले बताए । डिजिटल कक्षा, सर्वसुलभ शिक्षा, गुणस्तरीय शिक्षा, खानेपानीको समस्या समाधानलगायतका एजेण्डा आफूहरुले जोडदार रुपमा उठाउँदै आएको उनले बताए ।
अखिल (क्रान्तिकारी), रत्नराज्य लक्ष्मी क्याम्पसबाट स्ववियु सभापतिका उम्मेदवार संगमकुमार लामाले पहिचानसहितको विश्वविद्यालय आफ्नो सबैभन्दा पहिलो एजेण्डा रहेको बताए । समावेशिता र समान अवसर, इन्टर्नसीप, अपाङ्गमैत्री भौतिक संरचना, वित्तीय पारदर्शिता, पर्यावरण सचेतना, हरित क्याम्पस, मानसिक स्वास्थ्य परामर्शलगायतका आफ्नो चुनावी एजेण्डा रहेको बताए । उनले यस पटक डर र करले भन्दा पनि रहरले मतदान गर्न विद्यार्थीहरुलाई आग्रह गरे । आफूले स्ववियु निर्वाचनलाई आरआर क्याम्पस सुधारको महाअभियानको रुपमा लिएको पनि बताए ।
त्यसैगरी, अखिल (क्रान्तिकारी) का नेता, नेपाल ल क्याम्पसका स्ववियु सभापति विष्णु ढुङ्गेलले विगतमा स्ववियु निर्वाचन नहुनुको परिणामस्वरुप आज संसद्का दलाल र व्यापारीहरुको संख्या बढेको बताए । स्ववियु निर्वाचनको संघारमा अहिले केही राजनीतिक दलका भातृ संगठनहरुले क्याम्पस–क्याम्पसमा अराजकता देखाइरहेको बताए । वर्तमान समय दादागिरीको समय नभएर नेगोशेसन र डिजिटालाइजेसनको समय रहेको बुझ्न आवश्यक रहेको उनले बताए । विश्वविद्यालयको ढोका ताल्चा झुण्डिनु राम्रो संकेत नहुने उनको भनाइ छ । विद्यार्थीको चुनावलाई विद्यार्थीकै हातमा छोड्दिनुपर्ने उनको धारणा छ ।
स्ववियु निर्वाचनमा विद्यार्थीको नाममा दुई दिन क्याम्पसमा देखा परेकाहरुलाई जिताउन नहुने उनले बताए । साथै, स्ववियु निर्वाचन प्रभावित भएका क्याम्पसहरुका लागि अर्को कार्यतालिका प्रकाशन गरी समयमै निर्वाचनको सुनिश्चितता गर्न उनले विश्वविद्यालयसँग माग गरे । विद्यार्थी नेता ढुङ्गेलले भने, ‘विद्यार्थीको चुनावलाई विद्यार्थीकै हातमा छोडिदिनुस् । क्याम्पसको आवश्यकता र त्यहाँको अवस्था हेरेर उहाँहरुले निर्वाचन प्रक्रिया अगाडि बढाउनु हुनेछ ।’
अनेरास्ववियु, जनप्रशासन क्याम्पसबाट स्ववियु सभापतिका उम्मेदवार अग्रबहादुर शाहीले आफूले विगतदेखि नै क्याम्पसमा विद्यार्थीहरुको हक हितका लागि निरन्तर बोल्दै आएको बताए । विश्वविद्यालयलाई डिजिटालाइजेनको युगमा अगाडि सार्नुपर्छ भन्ने एजेण्डा लिएर स्ववियु निर्वाचनमा होमिएको बताए । उनले विद्यार्थीको हक, हित र आवाजको उचित प्रतिनिधित्व गर्न आफू सभापतिको उम्मेदवार बनेको बताए । उनले अबको विद्यार्थी राजनीतिलाई गुण्डागर्दी, होहल्ला र अराजकताबाट माथि उठाएर वैचारिक रुपमा अगाडि बढउनुपर्ने जिम्मेवारी आफ्नो काँधमा दिन आग्रह गरे ।
नेपाल विद्यार्थी संघ, त्रिवि केन्द्रीय क्याम्पसबाट स्ववियु सभापतिका उम्मेदवार दीपकराज जोशीले आफ्नो सबैभन्दा महत्वपूर्ण चुनावी एजेण्डा रूपान्तरणसहितको गुणस्तरीय शिक्षा रहेको बताए । समयसापेक्षा पाठ्यक्रम र गुणस्तरीय शिक्षामा आफ्नो विशेष पहलकदमी हुने उनले बताए । साथै, आफू स्ववियु सभापतिमा निर्वाचित भएको खण्डमा रिसर्चको लागि अनुदान र पारिश्रमिकसहितको इन्टर्नसीप र विद्यार्थीमैत्री भौतिक संरचनाको निर्माण आफ्ना चुनावी एजेण्डा रहेको उनले बताए ।






प्रतिकृया