• 11:19 pm

साइबर अपराध न्यूनीकरण गर्न संचार माध्यमले भूमिका खेल्नुपर्दछ : मन्त्री शर्मा

प्रकाशित मिति

December 4, 2023

मंसिर १८, २०८० दाङ : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले इन्टरनेटमा भएको तीव्र विकासले महिला हिंसा बढ्नु चिन्ताजनक विषय रहेको बताएकी छिन् । प्रेस काउन्सिल नेपालले पत्रकार महिलाको लागि आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय एडभान्स पत्रकारिता तालिम उद्घाटन कार्यक्रममा उनले साइबर अपराध न्यूनीकरण गर्न सञ्चार माध्यमले भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।

महिला हिंसाको स्वरूप बदलिएको भन्दै इन्टरनेटको माध्यमबाट हुने हिंसा न्यूनीकरण गर्न पत्रकार महिलाहरूले समेत भूमिका खेल्नुपर्ने धारणा राखिन् । सामाजिक सञ्जालको दुरुपयोग बढिरहेको, भ्रमपूर्ण सूचनाको खेती भइरहेको भन्दै यसबाट जोगिन सञ्चार साक्षरताको लागि सरकारले कार्यक्रम बनाउने बताइन् ।

तालिम उद्घाटन सत्रलाई सम्वोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले निर्धक्क भएर कलम चलाउन पत्रकार महिलाहरूलाई आग्रह गरे । प्रेस काउन्सिल नेपालका सदस्य ठाकुर वेल्वासे, कार्यक्रममा सञ्चारीका समुह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष चुमा आचार्य लगायतका वक्ताहरुले सम्वोधन गरे ।

तालिम संयोजक तथा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले गरेका थिए ।

तालिममा लुम्बिनी प्रदेशका १२ जिल्लाका २० जना पत्रकार महिलाहरूको सहभागिता रहेको छ । तालिम तीन दिन सम्म चल्ने छ । तालिमको प्रशिक्षकहरुमा दुर्गा भण्डारी पौडेल, विपुल पोख्रेल, ठाकुर वेल्वासे, दुर्गालाल केसी, अमृता अनमोल, झविन्द्र भुसाल रहेका छन् ।

प्रतिकृया