प्रधानमन्त्रीले भने- लोडसेडिङ अन्त्य गर्छु भन्दा कतिपयले खुलामञ्चमा आत्महत्या गर्छु भन्थे
प्रकाशित मिति
२०८० भाद्र १ गते, शुक्रबार १२:४४

भदौ १, २०८० काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १८ घण्टाको लोडसेडिङ अन्त्य गरेर अहिले मुलुक उज्यालोतिर अघि बढिरहेको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणको ३८औं वार्षिकोत्सव समारोहलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा लोडसेडिङ अन्त्य गर्छु भनेर घोषणा गर्दा मान्छेले नपत्याएको दृष्टान्त सुनाए ।
“मैले तीन महिनाभित्र लोडसेडिङ अन्त्य गर्छु भनेर घोषणा गरेँ, सँगै नेपाल विद्युत् प्राधिकरणलाई घाटाको स्थितिबाट नाफामा लाने भनेर घोषणा गर्दैगर्दा मानिसहरूले पत्याउँदैन थिए । र, प्रधानमन्त्रीले मजाक गरेको हो कि भनेर पनि प्रचार भएको थियो । कसैले त यदि लोडसेडिङ अन्त्य भयो भने खुलामञ्चमा आत्महत्या गर्छुसमेत भनेका थिए,” प्रधानमन्त्री प्रचण्डले भने ।
उनले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ आएपछि त्यो सम्भव भएको बताए । “उहाँलाई यहाँ ल्याइसकेपछि हाम्रो सङ्कल्प, इमान्दारी र मेहनतको औचित्य पुष्टि भयो । त्यसकै कारण हामीले १८ घण्टाको लोडसेडिङ अन्त्य गरेर देशलाई उज्यालोतर्फ अघि बढायौँ, बढिरहेका छौँ,” उनले भने ।
उनले अहिले प्राय: जनताको घरमा बिजुली पुगेको र प्राधिकरण नाफामा भएको उल्लेख गर्दै खुसी व्यक्त गरे ।
प्रतिकृया