मौसम विभागले भन्यो- तापक्रम घटिरहेको छ, चिसोबाट बच्न सतर्क रहनूहोला
प्रकाशित मिति
२०७९ मंसिर १८ गते, आईतवार ०८:४९
१८ मंसिर, २०७९, काठमाडौँ: काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ। आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ७ डिग्री मापन गरिएको छ ।
मौसमविदका अनुसार अब देशभर चिसो बढ्दै जानेछ। मौसमविद हिरा भट्टराईले भने, ‘तापक्रम घट्ने क्रममा छ। अब चिसो क्रमशः बढ्दै जान्छ। पछिल्लो केही दिन यता न्यूनतम् तापक्रम क्रमशः घटिरहेको छ ।’

तराईका जिल्लामा लागेकको हुस्सु अब बिस्तारै पहाडी जिल्लाहरुमा पनि बढ्दै जानसक्ने उनले बताए । मौसम दुई तरिकाले चिसो हुन्छ। एउटा अधिकतम तापक्रम घटेर र अर्को न्यूनतम तापक्रम घटेर । डम्म बादल लाग्यो भने बादलले ब्ल्यांकेटको काम गर्छ र अधिकतम तापक्रम घट्छ । बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ । अहिले चिसो भएको न्यूनतम तापक्रम घटेर हो। यस्तै यतिबेला रात लामो हुने भएको र सूर्यको प्रकाश पनि कडा नहुने भएकाले चिसो बढ्छ ।

दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस हुन थालेको उनले बताए । आज बिहान साढे ७ बजेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस छ। यो हालसम्मको सबैभन्दा कम तापक्रम हो ।
हाल सबैभन्दा कम तापक्रम जोमसोममा माइनस ४, जुम्लामा माइनस ३.५, र जिरिमा १.६ रहेको छ । पानी पर्यो भने पनि जाडो बढ्छ। तर अहिले तत्काल पानी पर्ने कुनै सम्भावना नरहेको मौसमविद भट्टराईले बताए ।
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशका पहाडी भू-भागका एक-दुई स्थानमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
तराईमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।




प्रतिकृया