भक्तपुरमा ‘राष्ट्रिय परिचयपत्र’का लागि विवरण दर्ता कार्य शुरु
प्रकाशित मिति
२०७७ श्रावण ५ गते, सोमबार ०१:२८
भक्तपुर, भक्तपुरमा ‘राष्ट्रिय परिचयपत्र’का लागि विवरण दर्ता कार्य शुरु भएको छ । आइतवारबाट विवरण दर्ता कार्य शुरु भएको हो । भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्ला प्रशासन कार्यालयमा कार्यरत प्रमाणीकरण अधिकृतमार्फत आफ्नो विवरण दर्ता गरी राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्यको शुभारम्भ गर्नुभएको हो ।
आइतवार करिब पचास जनाको विवरण दर्ता कार्य सम्पन्न भएको छ । चालु आर्थिक वर्षभित्र भक्तपुरका सबैको विवरण दर्ता कार्य सम्पन्न गर्ने लक्ष लिइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । उहाँले सरकारको यस कार्यक्रममा सहभागी बन्न र ‘राष्ट्रिय परिचयपत्र’का लागि विवरण दर्ता गराउन सबैलाई आग्रहसमेत गर्नुभएको छ ।
नागरिकताको आधारमा विवरण फारम भरी दर्ता गरेपछि बायोमेट्रिक स्मार्ट कार्डको रुपमा ‘राष्ट्रिय परिचयपत्र’ प्राप्त हुने र यसको डिजिटल रेकर्ड हुने हुँदा अधिकार प्राप्त अधिकारीले जहाँ बाट पनि परिचय हेर्न र प्रमाणीकरण गर्न सक्ने व्यवस्था रहेको छ । फोटो, नाम, जन्ममिति, बाबुआमाको नाम, बायोम्याट्रिक (औठा) छापसहितको विवरणयुक्त यो परिचयपत्र अनलाइनमा रिड गर्ने डिजिटल परिचयपत्र हो ।
राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमलाई प्रकृयागतरुपमा अघि बढाउन “राष्ट्रिय परिचयपत्र व्यवस्थापनको रणनीतिक योजना २०७५”, “राष्ट्रिय परिचयपत्र वितरणका लागि नेपाली नागरिकता प्राप्त व्यक्तिको विवरण दर्ता तथा राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी कार्यविधि, २०७५”, मन्त्रीपरिषद् र मन्त्रालयस्तरीय विभिन्न निर्णयहरुले कानुनी आधार प्रदान गरेको छ ।
सबै जिल्लामा लागू गर्नुपूर्व आ.व.२०७५/०७६ मा पाँचथर जिल्लाका नागरिकहरु र सिंहदरबार परिसरका कर्मचारीहरुलाई ‘राष्ट्रिय परिचयपत्र’ वितरण गरी यसको सफल परीक्षण गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले दावी गरेको छ ।






प्रतिकृया