खरीपाटीमा चीनबाट फर्काईने नेपाली राख्ने सन्दर्भमा स्थानीय र केन्द्र सरकारबीच समन्वयको अभाव
प्रकाशित मिति
२०७६ फाल्गुन १ गते, बिहीबार ०९:२८
राखिने स्थानको तयारी पुरा, संक्रमण फैलन नदिन उच्च सर्तकता
समाचार संकलन सहज पार्न पत्रकार महासंघको आग्रह
भक्तपुर, चीनको वुहान शहरमा रहेका करिब १ सय ८५ जना नेपाली कोरोना भाइरसको त्रासकाबीच स्वदेश फर्कनका लागि ब्यग्र प्रतीक्षा गरिरहेका छन् ।त्यसो त मंगलबार बसेको मन्त्रिपरिषद बैठकले चीनबाट नेपालीलाई फागुन ३ गते नेपाल ल्याउने निर्णय गरेको छ ।उद्धारका लागि करिब १२ करोड रुपैयाँ अनुमानसहित बजेट पनि स्वीकृत गरेको छ ।
चीनको वुहानबाट ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न सरकारले १ सय ९९ वटा बेड तयार पारेको छ । कोरोना भाइरस संक्रमित क्षेत्रबाट उद्धार गरी ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीमा चारवटा ब्लकमा १ सय ९९ वटा बेड तयार पारेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिनुभएको छ ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री ढकालले नेपालीको उद्धार गर्न स्वास्थ्यकर्मी र विमानका चालक दलका सदस्य गरी ८५ जनालाई तालिम दिएको मन्त्री ढकालले बताउनुभयो । चीनबाट स्वदेश फर्किन चाहने १ सय ८५ नेपालीलाई एकैपटक नेपाल ल्याउने र विमानस्थलमा स्वास्थ्य जाँच गरेर सिधै भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राख्ने सरकारको तयारी छ ।
सरकारले चाँगुनारायण नगरपालिका वडा नम्बर ७, खरीपाटीमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्रमा चीनबाट ल्याइने नेपालीलाई क्वारेन्टाइनको व्यवस्था गरेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ । सरकारी संन्यत्रले स्थानीयस्तरमा उचित जनचेतना फैलाउन नसक्दा स्थानीयमा त्रास फैलिएको हो।स्थानीयको विरोध गरिरहेको अवस्थामा उचित सचेतना फैलाउन नसक्नु जिल्लास्थित सरकारी निकायको कमजोरी देखिन्छ । यसबारेमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले स्थानीयको विरोध गर्न पाउने अधिकारी भएको र अन्य थप कुरा स्वास्थ्य मन्त्रालयका प्रवक्तासंग बुझन् आग्रह गर्नुभयो।
मुख्य ढोकामा नै कालो व्यानर टाँगेर स्थानीय बासिन्दाले दुई सातादेखि विरोध गरेका छन् । उक्त स्थानमा सुरक्षाकर्मी, कामदार र कर्मचारी बाहेक अरुलाई प्रवेश गर्न दिईएको छैन । संचारकर्मीलाई समेत प्रबेश निषेध गरिएको छ । चीनबाट स्वदेश फर्काएपछि नेपालीलाई १४ दिन क्वारेन्टाइनमा राख्न छुट्टै ठाउँ आवश्यकता पर्दछ । रोगको संक्रमण भएको देखिएमा अस्पतालमा छुट्टै राखेर उपचार गर्नु पर्ने र नभएपनि १४ दिन क्वारेन्टाइनमा राख्नु पर्ने चिकित्सकहरुको भनाई छ ।
विमानस्थलमा चेकजाँच गर्दा ज्वरो आएको पाइएमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना गरिने सरकारको तैयारी छ । सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि सरकारी र निजी अस्पतालमा गरी १ सय ४७ वटा आइसोलेसन वार्ड तयार पारेको छ ।
चीनबाट नेपाल ल्याइने नेपालीलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने र संक्रमण नभएको पुष्टि भएपछि मात्र घर जान दिइने मन्त्री ढकालले बताउनुभयो । नेपाल ल्याउने विद्यार्थीको लागि ६० जना स्वास्थ्यकर्मी परिचालन हुनेछन् । क्वारेन्टाइनमा राखिने नेपालीको स्वास्थ्य निगरानीमा खटिने ६० जना चिकित्सकलाई स्वास्थ्य मन्त्रालयले सोमबार नै अभिमुखीकरण तालिम दिएको छ । उचित पूर्वाधारको अभाव चीनबाट ल्याईएका विद्यार्थी कहाँ राख्ने भन्नेमा सुरुमा अन्यौल देखिएको थियो ।
नेपाली कांग्रेस,नेपाल कम्युनिष्ट पार्टी,नेपाल मजदुर किसान पार्टी ,राप्रपा संयुक्त लगायतका राजनीतिक दलले मात्र होईन स्वयं नगरपालिकाले पनि सरकारले तयारीबिना बस्तीको बीचमा कोरोना प्रभावित क्षेत्रबाट ल्याउने नेपालीलाई खरिपाटीमा राख्न नहुने भन्दै निरन्तर बिरोध गरिरहेका छन् ।
‘कोरोना भाइरस लागेका विदेशी नागरिकलाई चीनले नै फर्काउँदैन, बिरामीलाई ल्याउन खोजिएकै होइन, सामान्य नागरिकलाई निगरानीका लागि दुई साता राखिने मात्र हो, तर सरकारले जनतासँग परामर्श नगरी निर्णय गरेका कारण अन्योल र त्रास बढेको हो।’ –मेयर मिश्रले भन्नुभयो।
बाह्य मुलुकमा बस्तीको बीचमै पनि क्वारेन्टाइन राखेको देखिन्छ। हङकङले चीन मुख्य भूमिबाट आफ्नो क्षेत्रमा आउने नागरिकलाई दुई साता निगरानी तथा परीक्षण केन्द्र ‘क्वारेन्टाइन’मा अनिवार्य रूपले राख्दै आएको छ।त्यसो त स्थानीयको बिरोध मानवीय संबेदनाहिन ,निर्दयी र असहिष्णु अभिब्यक्ति भएको प्रकिृया पनि आएका छन् ।तर हाल विश्वमा नै महामारीका रुपमा रहेको रोगलाई सरकाले हल्का रुपमा हेरेको आरोप स्थानीयको आरोप छ । नेपाल सरकारसँग राम्रो तयारी नभएको बताउँदै नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेले नेपाली विद्यार्थीलाई स्वदेश फर्काउनु वुद्धिमानी नहुने बताउनुभएको छ । चारैतर्फ बार लगाएर घेरिएको उक्त तालिम केन्द्रको वरपर बाक्लो बस्ती छ । केन्द्रको पूर्व तर्फको पर्खालभन्दा ३०÷४० खानेपानीको प्रशोधन केन्द्र छ । पर्खालसंगै जोडिएर सार्वजनिक धारो छ । चाँगुनारायण नगरपालिकाको ५, ७ र ८ नम्बर वडा यस केन्द्रको आसपासमा पर्दछन् ।
स्थानीयले बासिन्दालाई सरकारले कोरना रोग लागेका बिरामी नभएर प्रभावित क्षेत्रका स्वस्थ्य नेपाली ल्याएर राख्ने भनेर सचेतना यस क्षेत्र वरपर फैलाउन सकेको छैन् । उहीँ सुरक्षाकर्मीको बलमा केन्द्रभित्र कोठाखाली गर्ने काममात्र गरेको देखिन्छ । यस वरपरका स्थानीय बसिन्दाको स्वस्थ जिवनको ग्यारेन्टी दिन नसक्नु सरकारको कमजोरी हो । त्यसैले अन्यत्र स्थानका स्थानीय बासिन्दालाई समेत सचेत बनाउदैं चीनमा रहेका नेपालीलाई सुरक्षित तरिकाबाट १४ दिनको क्वारेन्टाइन राख्नु राज्यको दायित्व हो । म्ांगलबार भने प्रमुख जिल्ला अधिकारी पाण्डे नेतृत्वको सुरक्षा अधिकारी सहितको टोलीले स्थानीय अगुवासँग छलफल गरी वातावरण सहज बनाउने पहल गरेको छ ।
यतिबेला राज्यमा ३ तहका सरकारले काम गरिरहेका छन् ।स्थानीय ,प्रदेश र केन्द्र सरकार ।तीनै तहका सरकारले समन्वयमा काम गर्नुपर्ने अहिलेको अबस्था हो ।तर यस सन्दर्भमा केन्द्र सरकारले समन्वय नगरी स्थानीय सरकारलाई पेल्न खोजेको स्थानीयको बुझाई छ ।
अर्कातिर महामारीको बिश्वब्यापी हल्ला फैलिरहँदा रोगबारे स्थानीयलाई बुझाउन नसक्नु पनि सरकारको कमजोरी देखिएको छ । केन्द्र सरकारले स्थानीय सरकारसँग समन्वय गर्दै स्थानीयलाई सम्झाउँदै बुझाउँदै निर्णय लिई थप कदम चाल्नु अपरिहार्य देखिन्छ । यसैबीच चीनको वुहानबाट उद्दार गरी नेपाल ल्याउन लागिएका नेपालीलाई राख्न क्वारेन्टाईन निर्माणको काम भईरहेको भक्तपुरको खटिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको भवनमा संचारकर्मीलाई त्यसको समाचार संकलनका लागि खरिपाटी पुगेका संचारकर्मी तीनदिनदेखि मूलगेटबाटै प्रवेशमा रोक लगाएको भन्दै नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले खेद व्यक्त गरेको छ ।
महासंघका सचिव कृष्ण नेपालद्दारा हस्ताक्षरित बिज्ञप्तीमा माघ २९ गते प्रेस विज्ञप्ती जारी गर्दै क्वोन्टाइनको अबस्था जानकारी लिने अधिकारबाट बञ्चित नगर्न आग्रह गरेको छ । महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले प्रमुख जिल्ला अधिकारी होमकला पाण्डे र भक्तपुरका एसपी सविन प्रधानले माथिको आदेश त्यस्तै भएकाले केही बोल्न र भित्र जान दिने अबस्था तत्काल नभएको प्रतिक्रिया दिएको बताउदै समाचार संकलन गर्ने अधिकारबाट बञ्चित गर्नु नहुने बताउनुभयो ।






प्रतिकृया