• ५ असोज २०८३, सोमबार
  • ६ः३१ बेलुका

सभामुख बनाउन हानथाप

प्रकाशित मिति

२०७६ पुष ११ गते, शुक्रबार ०७:५४

काठमाडौं, पार्टी अध्यक्ष पुष्पकमल दाहाल काठमाडौं नफर्केपछि सत्तासीन नेकपाले बिहीबार सभामुख उम्मेदवार टुंगो लगाउन सकेन। नेकपाभित्र पूर्वएमालेबाट कि पूर्वमाओवादीबाट सभामुख बनाउने भन्ने हानथाप छ। दाहालमाथि पूर्वमाओवादीबाट सभामुख लिन दबाब परे पनि प्रधानमन्त्री केपी ओली पक्षधर नेताहरू भने पूर्वसभामुख सुवास नेम्वाङलाई सभामुख बनाउनुपर्ने पक्षमा छन्। संसदीय प्रक्रिया जानेको, सरकारसँग समन्वय गर्न सक्ने र कानुन तथा संविधानमा जानकार भएकाले नेम्वाङलाई सभामुख बनाउनुपर्ने अडान ओलीको छ।

National Life

चितवन पुगेका दाहाल बिहीबार काठमाडौं फर्कने कार्यक्रम थियो। दाहाल फर्केलगत्तै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीसँग छलफल गरेर नेकपाले सभामुख उम्मेदवार टुंगो लगाउने नेताहरूले बताएका थिए। तर बिहीबार दिउँसो साढे तीन बजे काठमाडौं फर्कने पूर्वनिर्धारित कार्यक्रम दाहालले एकाएक रद्द गरे। दाहाल शुक्रबार फर्केपछि सभामुखबारे निर्णायक छलफल हुने र सचिवालय बैठकबाट अनुमोदन गरिने नेताहरू बताउँछन्। दाहाल चितवनमै रहेका बेला पूर्वमाओवादीका एक दर्जन बढी नेताहरूले टेलिफोन गरेर ‘सभामुखबारे निर्णय के हो रु शक्ति सन्तुलनका लागि सभामुखमा पूर्वमाओवादीको कोटा छोड्न नहुने’ सुझाव दिएको स्रोतले बतायो। ‘हाम्रो अडान कायमै छ। टुंगो लागेको छैन’ भन्दै दाहालले नेताहरूलाई जबाफ फर्काएको दाहालको सचिवालयका एक सदस्यले बताए।

पूर्वमाओवादीबाट सभामुख बनेका कृष्णबहादुर महराले यौन दुव्र्यवहारको आरोप खेपेपछि राजीनामा दिएका थिए। राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्ष पूर्वएमालेले लिएका कारण सभामुख पूर्वमाओवादीले लिनुपर्ने दाहाल निकट एक नेताले बताए। ‘पार्टी एकताको काम संक्रमणकालीन अवस्थामा रहेको र एकतामा पूर्वएमाले र पूर्वमाओवादी भनेर भागबण्डा गर्ने गरिएका कारण हामीले नै सभामुख पद पाउनुपर्छ,’ दाहाल निकट एक स्थायी समिति सदस्यले भने। प्रधानमन्त्री ओली भने पार्टी एकताको काम अन्तिम चरणमा रहेकाले भागबण्डा गर्न नहुने पक्षमा छन्। सभामुखमा पूर्वमाओवादीबाट अग्नि सापकोटा, देव गुरुङ र पम्फा भुसालले दाबी गरिरहेका छन्। पूर्वमाओवादीकै कोटाबाट सभामुख बनाउन बल पुगोस् भनेर दाहालले पूर्वएमालेभित्रबाट वरिष्ठ नेता माधव नेपाल पक्षको सहयोग मागेको स्रोतले बतायो।

Classic Tech Mobile
Classic Tech Desktop

सभामुखबारे आफ्नो प्रस्तावमा प्रधानमन्त्री ओलीले हस्तक्षेप नगरून् भनेर दाहालले नेताहरूमार्फत सन्देश पु¥याइरहेका छन्। दाहालले मंगलबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई र बुधबार अर्का नेता वामदेव गौतमलाई भेटेर यस्तो सन्देश दिएको उनी निकट स्रोतले बतायो। संसद् सचिवालयले बिहीबार बस्ने बैठकबाट सभामुख निर्वाचनको मिति निर्धारण गर्ने सम्भावित कार्यसूची बनाएको छ। तर सत्तासीन नेकपाले सभामुखबारे निर्णय नगर्दा सचिवालय अलमलमा छ। सभामुखबारे नेकपाले निर्णय गरेलगत्तै बिहीबार नै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएर शुक्रबार प्रक्रिया अघि बढाउने तयारी थियो। तर पार्टीले निर्णय नगरेकाले उपसभामुख तुम्बाहाङ्फेले राजीनामा नदिएको उनको सचिवालयले जनाएको छ।

संसद् सचिवालयले शुक्रबारको बैठकबाट सभामुख निर्वाचनको मिति तोक्ने कार्यतालिका बनाएको छ। १३ गते मनोनयन दर्ता र १४ गतेको बैठकबाट सभामुख निर्वाचन गर्ने कार्यक्रम छ।
अन्नपूर्ण पोष्ट्बाट साभार ।

प्रतिकृया