भक्तपुरमा उपनिर्वाचनको चुनावी प्रचार प्रसार तिव्र, नेकपाद्धारा घरदैलो कार्यक्रम
प्रकाशित मिति
२०७६ कार्तिक २९ गते, शुक्रबार १०:१३
भक्तपुर, आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको माहोल निर्वाचन हुने क्षेत्रमा तात्दै गइरहेको छ । नेकपाले भक्तपुर क्षेत्र नं.१ ‘क’को उपनिर्वाचनको लागि शुत्रकार चाँगुनारायण नगरपालिका वडा नं. १ मा घरदैलो कार्यक्रम गरेर चुनावी प्रचार प्रसारलाई तिव्र बनाएको छ । नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधब कुमार नेपालले देशलाई समृद्ध बनाउन नेकपाका उम्मेदवारले खेल्ने भूमिकाबारे जनतालाई जानकारी गराउदै घरदैलो कार्यक्रममा सहभागि हुनु भएको छ ।
बरिष्ठ नेता नेपालले शिक्षा, स्वास्थ्य, रोजगारको साथमा समृद्ध भक्तपुर र सुखी भक्तपुरका जनता बनाउन नेकपाको अर्को विकल्प नभएको जनताका माझ उल्लेख गर्नुभएको छ । स्व. हरिशरण लामिछानेको सपनालाई साकार पार्दै जनताको सारथी बन्ने प्रकारको उम्मेदवारको रुपमा नेकपाले डिपी ढकाललाई ल्याएको उल्लेख गर्दै उहाँले ढकाल भक्तपुरको विकासको मुल ढोका हुने बताउनुभयो ।

बरिष्ठ नेता नेपालले ढकालले निर्वाचित भएसँगै तीनै तहको सरकारलाई समन्वयनात्मक भूमिका निर्वाह गर्न सक्ने क्षमता भएका कारण भक्तपुरको विकासमा नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत र ढकालले भक्तपुरको मुहारमा व्यापक मात्रामा परिवर्तन गराउने र त्यसमा केन्द्र तथा आफ्नो व्यक्तिगत तर्फबाट सदैब साथ र सहयोग हुने जनताका माझ उल्लेख गर्नुभयो ।

त्यस्तै पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभा सदस्य एवंम सांसद बस्नेतले उम्मेदवार ढकाल भक्तपुरले रोजेको जनताले खोजेको व्यक्ति भएको उल्लेख गर्दै भक्तपुरको विकास र समृद्धि तथा जनताको चाहना, आवश्यकतालाई पुरा गर्न ढकाल र आफु सदैब सँगै सहयात्री भई भक्तपुरको मुहार फेर्न लाग्ने भएकाले ढकाललाई निर्वाचित गराउन आग्रह गर्नुभयो ।
नेकपाको लक्ष्य नै जनताको चाहना अनुसारको विकास भएकाले नेकपाका उम्मेदवार ढकाल निर्वाचित भएसँगै भक्तपुरको विकासमा कसैले रोक्न नसक्ने जनताको माझ स्पष्ट पार्नुभयो । उहाँले जनतालाई कुनै भ्रम र लोभलालचमा नलाग्न आग्रह गर्दै नेकपाको नेतृत्वले भक्तपुरलाई आधुनिक र परिस्कृत बनाउने अभियान सञ्चालन गरेको र त्यसलाई जनताले प्रत्यक्ष साथ दिन नेकपाका उम्मेदवार ढकाललाई मतदान गर्न आग्रह गर्नुभयो ।
घरदैलो कार्यक्रममा स्थानीयवासीले शिक्षा, स्वास्थ्य, रोजगारका साथमा भक्तपुरको विकास जनताको लागि अपरिहार्य भएको बताउँदै नेकपाका उम्मेदवार ढकाललाई निर्वाचित गराउन जनता नै आफै मैदानमा आइसकेको जानकारी गराउनुभयो । नेकपाको घरदैलो कार्यक्रममा उम्मेदवार ढकाल लगायत प्रदेश सांसद शशी जंग थापा, नेकपाका इन्चार्ज दिपिल प्रजापति, सहइन्चार्ज तथा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, नेकपाका नेता तथा कार्यकर्ता र स्थानीयवासीको सहभागिता रहेको थियो ।






प्रतिकृया