मध्यपुरको सांस्कृतिक गुरुयोजना निर्माण अन्तिम चरणमा,
प्रकाशित मिति
२०७६ असार १३ गते, शुक्रबार ०९:३०
मध्यपुरथिमि नगरपालिकाको सांस्कृतिक गुरुयोजनानिर्माण अन्तिम चरणमा, निर्माण र कार्यान्वयनमा संचारकर्मीको भूमिका महत्वपुर्ण रहेको बताईएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले बिहीबार मध्यपुर थिमिस्थित यचु पार्टी भेन्युमा आयोजना गरेको एक कार्यक्रमका सरोकारवालले यस्तो बिचार व्यक्त गरेका हुन् ।
मथिनपाको सहयोगमा आयोजित कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष बिपुल पोखरेलले मध्यपुरथिमि नगरपालिकाको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण एवं विकास गर्दै नमूनाको साँस्कृतिक नगरी निर्माण गर्न नगरपालिकाले सांस्कृतिक गुरुयोजना निर्माण गर्नु महत्वपुर्ण रहेको बताउनुभयो ।
संचारले संसार देखाउने भन्दै उहाँले समाजका हरेक बिषय र काम जस्तै सांस्कृतिक गुरुयोजना निर्माण र कार्यान्वयनमा पनि संचारकर्मीको भूमिका महत्वपुर्ण रहेको बताउनुभयो ।
पत्रकारले अभाव, दबाब र प्रभावभन्दा माथि उठेर कलम चलाउनुपर्ने बताउँदै पोखरेलले संचारकर्मीको स्वतन्त्र, निष्पक्ष र तटस्थ भूमिकामा आँच पुर्याउन नहुने बताउनुभयो ।
मध्यपुरथिमि नगरपालिकाभित्र रहेका मूर्त तथा अमूर्त कला, संस्कृति, सम्पदादेखि सम्पूर्ण विषयको खोज, अनुसन्धान, संरक्षण र विकास गर्नेगरी गुरुयोजना निर्माण भइरहेको नगरप्रमुख श्रेष्ठको भनाई थियो । गुरुयोजना निर्माण सम्पन्न भएसँगै त्यसलाई कार्यान्वयनमा लैजाने जानकारी दिदै मध्यपुरथिमि भित्र जीवित सङ्ग्रहालयसमेत निर्माण शुरु भएको जानकारी दिनुभयो ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले सांस्कृतिक सम्पदाको खोज, अनुसन्धान र संरक्षणका लागि गुरुयोजना निर्माण गरिरहेको बताउनुभयो । गुरुयोजनामा नगर क्षेत्रभित्र रहेका भाषा, हस्तलिपि, भेषभुषा, गीत÷संगीत, बाजागाजा, नृत्य तथा झाँकी, रितिरिवाज तथा परम्परा, गरगहना लगायतको खोजी भैरहेको प्रमुख श्रेष्ठले बताउनुभयो । परम्परागत खानपान, पेशा, बस्ती र सम्पदा, धारा, इनार, पाटी, पौवा लगायत सांस्कृतिक सम्पदाको पहिचान गरी संरक्षणका योजना समेटिने मेयर श्रेष्ठको भनाई थियो ।
‘नगर क्षेत्रको सांस्कृतिक अवस्था के छ ? भन्ने तथ्य र तथ्यांक संकलन गरीरहेको र त्यसपछि तिनको संरक्षणका काम सुरु हुन्छन्,’ प्रमुख श्रेष्ठले भन्नुभयो । यसमा संचारकर्मीको महत्वपुर्ण भूमिका हुने भएकैले यो कार्यक्रमको आयोजना गरिएको बताउँदै श्रेष्ठले संचारकर्र्मीबाट महत्वपुर्ण सुझाब आएकाले तिनलाई गुरुयोजनामा समेटिने बचन दिनु भयो ।
संस्कृतिकर्मी रबिन्द्र पुरीले मथिनपा सांस्कृतिक सम्पदामा धनी भएको बताउदै नगरपालिकाले संस्कृति संरक्षणमा लिएको कदमको प्रशंसा गर्नुभयो । नगरपालिकाभित्रको परम्परागत बस्तीलाई जीवित सङ्ग्रहालय बनाउने गरी नगरपालिकाले कार्ययोजना अगाडि बढाएको र यसले आन्तरिक तथा बाह्य पर्यटकको आगमन समेत बढाउने पुरीको भनाइ थियो ।
नगरपालिकाले सांस्कृतिक नगरीको गुरुयोजना निर्माणका लागि बनाएको बताउँदै तर्जुमा समितिका सदस्य नवीन प्रकाश श्रेष्ठले ३ वर्षे, ५ वर्षे र १० वर्षे योजनाहरु गुरुयोजनामा समावेश गर्न लागिएको बताउनुभयो । साँस्कृतिक नगर मध्यपुर थिमि नगरपालिकाको गुरुयोजनाले आवश्यकता र महत्वको आधारमा योजनाहरुलाई प्राथमिकता क्रममा राखिएको बताउँदै उहाँले पत्रकारीता जगतबाट अझ बढी सल्लाहको अपेक्षा गरिएको बताउनुभयो ।

गुरुयोजनालाई पुरा गरी पूर्णरूपमा कार्यान्वयनमा ल्याएपछि आगामी १० वर्षभित्र मध्यपुरथिमि नगरपालिका देशकै नमूना नगरपालिकाको रूपमा स्थापित हुने विश्वास सदस्य श्रेष्ठको भनाई थियो । पत्रकार दिबस गुरागाईंले मध्यपुरथिमिका सम्पदाका प्रचारका लागि नयाँ प्रचारशैली अपनाउनुपर्ने बताउँदै सम्पदाको स्तरनिर्धारण गर्नुपर्ने, सम्पदाको तथ्यांक संकलनगर्नुपर्ने, सम्पदालाई पाठ्यक्रममा जोड्नुपर्ने र प्रचारमा समाजका चलेका ब्यक्तिलाई उपयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा महानगरीय प्रहरी बृत्त थिमीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएपी) शान्तिराजकोईराला, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, संस्थापक अध्यक्ष रमेश खड्का, सहसचिब सुन्दर शिल्पकार, कार्यसमिति सदस्य हेमराज ढकाल, जयराम बास्तोला, शंखधर शाख्वा प्रतिष्ठानका उपाध्यक्ष ज्ञानराम श्रेष्ठ, पत्रकार पेशल आचार्य, हरिबहादुर श्रेष्ठ, पबित्रा गुरागाईं, हेमन्तकिशोर कट्टेल लगायतले प्रचारप्रसार र संरक्षणको अभावमा रहेका सम्पदालाई उजागर गर्न संचारकर्मीको भुमिका महत्पपुर्ण रहेको बताउँनुभयो ।






प्रतिकृया