एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
प्रकाशित मिति
२०८३ आश्विन ४ गते, आईतवार ०९:५२
४ असोज २०८३ काठमाडौं — नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ। बैठकका लागि कार्यदलका सदस्यहरू च्यासलमा जुटिरहेका छन्।
कार्यदलमा यसअघि प्रस्तुत प्रतिवेदनबीच सहमति जुट्न नसकेपछि आजको बैठकलाई पुनर्गठनसम्बन्धी विवाद टुंग्याउने महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा कार्यदलका सदस्य नरहेका नेता प्रदीप ज्ञवालीले तयार पारेको २९ पृष्ठको छुट्टै प्रतिवेदनसमेत छलफलका लागि प्रस्तुत हुने भएको छ।
ज्ञवालीको प्रतिवेदनमा महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा रहेको नेतृत्व परिवर्तनसम्बन्धी प्रस्ताव हटाइएको छ। त्यसको सट्टा निर्वाचनमा भएको पराजयलाई व्यक्ति विशेषको कमजोरी वा नेतृत्वका कारण मात्र भएको मान्न नसकिने धारणा प्रस्तुत गरिएको छ।
यसअघि कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव पोखरेलले छुट्टाछुट्टै प्रतिवेदन तयार गरेका थिए। दुवै प्रतिवेदनलाई समायोजन गरी एउटै प्रतिवेदन बनाउने प्रयास भए पनि सहमति जुट्न सकेको थिएन। त्यसपछि थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेललाई थप गृहकार्यको जिम्मेवारी दिइएको थियो।
तर त्यसबाट पनि सहमति नजुटेपछि अध्यक्ष ओलीको निर्देशनमा कार्यदलमा नरहेका ज्ञवालीले छुट्टै प्रतिवेदन तयार गरेका हुन्। उनको प्रतिवेदनलाई पुनर्गठन पक्षधर केही नेताले कार्यदलको आधिकारिक प्रतिवेदनका रूपमा स्वीकार गर्न नसकिने धारणा राखेका छन्।
कार्यदलको विवाद प्रतिवेदनको विषयवस्तुमा मात्र सीमित छैन। निर्वाचन पराजयको समीक्षा कसरी गर्ने, त्यसको राजनीतिक तथा सांगठनिक जिम्मेवारी कसरी निर्धारण गर्ने र पार्टी पुनर्गठनको अर्थ नेतृत्व परिवर्तन हो कि संगठनात्मक सुधार भन्ने विषयमा समेत एमालेभित्र फरक धारणा देखिएको छ।
कार्यदलको बैठकपछि आजै दिउँसो १ बजे एमाले सचिवालयको बैठक बस्ने कार्यक्रम छ। सचिवालय बैठकले असोज ५ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले बताएका छन्। केन्द्रीय कमिटी बैठक असोज ५ देखि ७ गतेसम्म ललितपुरको भैंसेपाटीस्थित रामबाग महलमा बस्ने कार्यक्रम रहेको छ।
आजको कार्यदल बैठकले तीनवटा प्रतिवेदनलाई कसरी अघि बढाउँछ भन्ने विषयले एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी आगामी बहसको दिशा तय गर्ने देखिएको छ।






प्रतिकृया