• ४ असोज २०८३, आइतबार
  • ११ः३४ राती

सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण

प्रकाशित मिति

२०८१ माघ ९ गते, बुधबार ०२:१३

माघ ९, २०८१ काठमाडौँ: सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ । अधिकारीको उक्त पुस्तक मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । यसअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ ल्याउनुभएकी अधिकारीले आफ्नो जन्म दिनको अवसर पारेर ‘मेरा कलमका डोबहरू पाठकमाझ ल्याउनुभएको हो ।

National Life

विशिष्ट कलाकार उत्तम केसीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिद्वय, विशिष्ट कलाकार लय संग्रौला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्वअध्यक्ष एवं नेपाली साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट संगीतकार राजु सिंह गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, गीतकार संघका पूर्वअध्यक्ष चूडामणि देवकोटा, गीतकार एवं वरिष्ठ रंग पत्रकार शान्तिप्रिय, वरिष्ठ गीतकार अमर वान्तु, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष शोभा अर्याललगायतले गीताको पत्रकारिता र सामाजिक व्यक्तित्वको चर्चा गर्दै नयाँ कृतिका लागि बधाई तथा शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा कृतिकार अधिकारीले आफूले विभिन्न समयमा मिलाप मासिकका साथै विभिन्न पत्र पत्रिकामा प्रकाशित आलेखलाई ‘मेरा कलमका डोबहरू’मा समावेश गरेको बताउनुभयो । मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले मिलाप मासिकको चर्चा गर्दै लेखिका अधिकारीले आफ्ना आलेखलाई दस्तावेजीकरण गरेको जानकारी गराउनुभयो । उहाँले यसमा समावेश भएका आलेखहरूले त्यो समयका विभिन्न विषयलाई जानकारी दिने बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, अनेसासका पूर्वअध्यक्ष लेकालीले गीतालाई आफूले वर्षौंदेखि चिनेको भन्दै उहाँले लेखकबाट आगामी दिनमा अन्य कृतिको आश गरेको बताउनुभयो । यस्तै विशिष्ट कलाकार संग्रौलाले गीतका कार्यको तारिफ गर्दै गीत लेखनसँगै समाजसेवामा पनि सक्रिय गीता बहुआयामिक व्यक्तित्व रहेको चर्चा गर्नुभयो । वरिष्ठ गीतकार वान्तुले गीता र आफ्नो जन्मस्थान भोजपुर भएको प्रंसग निकाल्दै गीत लेखनसँगै उहाँका अन्य कार्य प्रशंसनीयका साथै अनुकरणीय रहेको जिकिर गर्नुभयो ।

सञ्चारकर्मी रिना श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा मिलापको पुस अंकमा कभर स्टोरीमा रहनुभएकी साहित्यकार राधा भण्डारीलाई कभर सम्मान अर्पण गरिएको थियो भने अथितिहरूलाई मायाको चिनो पनि प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

गीता कला मनोरञ्जन पत्रकारिताको अलावा गीत लेखनमा पनि सक्रिय हुनुहुन्छ । उहाँका ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘बजाउँदै चुरा’, ‘श्वास फेरी’, ‘छम्मछम्म’ जस्ता एकदर्जन जति गीत श्रोता÷दर्शकमाझ आएका छन् । चलचित्र पत्रकार संघमा सदस्य हुँदै उपाध्यक्षसम्मको जिम्मेवारी कुशलपूर्वक सम्पादन गर्नुभएकी गीताको ‘मेरा कलमका डोबहरू’ पाठकमाझ आएको दोस्रो पुस्तक कृति हो । मिलाप पब्लिकेशन प्रा.लि.ले पाठकमाझ ल्याएको ४७७ पेजको यस कृतिको मूल्य ९९९ रुपैयाँ राखिएको छ ।

प्रतिकृया