• 8:47 pm

स्वदेश फर्किए कतारका अमिर

प्रकाशित मिति

April 24, 2024

वैशाख १२, २०८१ काठमाडौँ: कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फिर्ता भएका छन् । २ दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आएका उनलाई राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विमानस्थलमा बिदाइ गरेका छन् । मंगलबार काठमाडौँ आएका कतारका अमिर थानीले राष्टपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गरेका थिए भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरको रात्री भोजमा सहभागी भएका थिए ।

त्यसपछि बुधबार बिहान अमिर थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग वान टू वान र त्यसपछि द्विपक्षिय प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गरेका थिए । द्विपक्षिय भेटवार्तापछि नेपाल र कतारबीच बिभिन्न क्षेत्रमा सहमति र सम्झौता गरिएको थियो ।

नेपाल कतारबीच कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
त्यस्तै युवा तथ खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीति, शिक्षा र तालिमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले हस्ताक्षर गरेका थिए ।

यसैगरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा नेपालका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरकातर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरेका थिए ।

प्रतिकृया