• 12:51 pm

१० वर्षमा बिहे, १३ मा आमा

प्रकाशित मिति

August 6, 2021

२२ साउन, २०७८ काठमाडौँ : हसिना मियाँ १३ वर्षकी भइन् । उनको काखमा ६ दिनकी छोरी हुर्किरहेकी छन् । छोरीलाई काखमा च्यापेर उनी छिनछिनमा टोलाउँछिन् । उनका अनुसार बिहे १० वर्षमै भयो । लमजुङको सुन्दरबजार नगरपालिका–८, भोटेओडार बगैंचानजिकै ६ दिनकी छोरीलाई काखमा लिँदै १३ वर्षीया आमा हसिना मियाँ । आफैं सम्हालिन नसक्ने उमेरमा उनले बच्चीलाई स्याहार्नुपरेको छ । सुन्दरबजार नगरपालिका–८, भोटेओडार बगैंचानजिकै एउटा घरको कोठामा छोरीलाई लिएर बसेकी छन् उनी । सकिनसकी बच्चा स्याहारेकी छन् । कलिलो उमेरमा भएको सुत्केरीले उनलाई भार परेको छ ।


३ दिन व्यथा लागेपछि पति आइतबहादुर तामाङले बेंसीसहरस्थित जिल्ला अस्पताल पुर्‍याएका थिए । ‘बच्चा कसरी जन्मियो, पत्तै भएन,’ उनले भनिन् । गत शनिबार उनले अस्पतालमा बच्चा जन्माएकी हुन् । बुबासँगै बसे पनि उनले खासै माया नपाएको गुनासो गरिन् । आमा दोस्रो बिहे गरी दाङ पुगेको उनले बताइन् । ७ सन्तानमध्ये उनी माइलोपछिको एक्ली छोरी हुन् । ‘४ कक्षासम्म मात्रै पढें । पछि बालुवा चाल्ने काम गरें । त्यही बेला बुढो (आइतबहादुर) सँग भेट भएको हो,’ उनले भनिन्, ‘सँगै काम गर्दा माया बस्यो । बिहे भयो ।’


सुत्केरी भएपछि कोठा खोजेर राखेको हसिनाकी फुपू सुकमाया मियाँले बताइन् । ‘बाउले हेरेनन्, आमा छैनन् । अरू कसले हेर्ने ? मसँग राखौं भने पनि कोठा छैन’ उनले भनिन् । चिसो भुइँमा म्याट ओछ्याइएको छ । पुरानो खाटमा झुल टाँगेर तन्ना बिछ्याएको छ । पुराना लुगाफाटा र भाँडाकुँडा छरपस्ट छन् । हसिनाका पति मजदुरी गर्छन् । उनी २० वर्षका भए । तामाङले उनको घर लमजुङकै भुष्मे भएको बताएका छन् ।


हसिनाको परिवार भने हजुरबुबाकै पालामा तनहुँबाट आएका हुन् । ‘बालुवा चाल्ने र बोक्ने ठाउँमा भेट भएको हो । त्यहीं माया बस्यो । अनि बिहे गरेको,’ तामाङले भने । सानै उमेरमा बिहे गर्न हुँदैन भन्ने ज्ञान नभएको उनले बताए । बेसहारा हसिनालाई सहारा दिएको उनले बताए ।

प्रतिकृया