• 5:27 am

हाम्रो देश पछाडि परेको कारण भ्रष्टाचार र व्यक्तिगत स्वार्थले हो, त्यतातिर हामी सच्चिएर जानुपर्दछ, जो सच्चिदैन त्यसको राजनीति अब हुँदैन : किरण थापा

प्रकाशित मिति

२०७९ कार्तिक २४ गते, बिहीबार ०४:३६

२४ कार्तिक २०७९, काठमाडौँ: किरण थापा आसन्न निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट प्रदेशसभा निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ (क) बाट सूर्य चिन्ह लिएर मैदानमा होमिएका छन् । हाल नेकपा (एमाले) मा आवद्ध रही राजनीतिक पाइला अघी बढाइरहेका थापाले २०५३ मा २० बर्षको उमेरमा राष्ट्रिय प्रजातन्त्र पार्टी, गाउँ कमिटी अध्यक्ष हुँदै राजनीतिक यात्रा अघी बढाएका हुन् । २०५४ मा गाविस अध्यक्ष बन्नको लागि उमेर नपुगेको कारण उनी वञ्चित हुनुप-यो । तैपनि राप्रपाका विभिन्न भूमिकामा रहँदै अघि बढिरहेकै बखत उक्त दल राप्रपामा विभिन्न आन्तरिक समस्या सृजना भई पार्टी फुट्ने स्थितिमा पुगेसँगै उक्त पार्टीबाट अलग्गिएर वि।सं २०७१ पुषबाट नेकपा (एमाले) मा प्रवेश गरेका हुन् । सोही पार्टीबाट वडाअध्यक्ष बनिसकेका थापाले यसपटक प्रदेशसभा सदस्यको लागि कसरत गरिरहेका छन् ।त्यसैगरी उनी व्यवसायी, समाजसेवी पनि भएको र खेलकुदमा पनि उनको संलग्नता रहेको छ । उनको अहिलेको चुनावमा चुनावी एजेण्डा, चुनाव जितेपछि उनले गर्ने कार्य योजना तथा विविध विषयको सेरोफेरोमा रहेर मातृभूमिन्यूजका सम्पादक मनोजराज रेग्मीले उनीसँग गरेको प्रत्यक्ष अन्तर्वार्ताको सम्पादित अंशः

वर्तमान राष्ट्रिय राजनीतिलाई कसरी विश्लेषण गर्नुभएको छ ?

वर्तमान राजनीतिमा एउटा राष्ट्रवादी शक्ति र एउटा विदेशी शक्तिहरुको बीचमा प्रतिष्पर्धा भैरहेको छ । नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा विदेशीहरुको एजेण्डा पास गरेको भए उहाँको सरकार आज ढल्ने थिएन र उहाँकै नेतृत्वमा सरकार बनिराखेको हुन्थ्यो र उहाँले नै निर्वाचन गर्नुहुन्थ्यो । परमादेशबाट आदेशबाट गठन भएको शेर बहादुर देउवाको नेतृत्वको सरकार र उहाँको १६ महिने कार्यकालमा कुनै पनि देश र जनताको हितमा उहाँले काम गर्नुभएको छैन । आज कहिले एमसीसीको प्रस्ताव ल्याएर त्यसलाई पास गर्नुभयो । त्यसैगरी बजेट बनाउँदा पनि व्यापारी व्यवसायी तथा कसरी विचौलियाहरुलाई कमीशन दिने भनेर बजेट बनाउनुभएको छ । उहाँको कार्यकालमा विदेशीहरुको एजेण्डा मात्र उहाँहरुले पास गर्नुभयो । देशको प्रधानन्यायाधिश जस्तो व्यक्तिलाई उहाँले नजरबन्द राख्ने जस्तो काम गर्नुभयो । १६ महिनाको उहाँहरुको कामको समीक्षा गर्दा उहाँहरुले नेपाल र नेपालीको लागि कहिले पनि काम गर्नुभएन । जबकी हाम्रा श्रद्धेय नेता केपी शर्मा ओलीको नेतृत्वको पार्टीले उहाँ प्रधानमन्त्री हुँदा देशमा नाकाबन्दी थियो, उहाँले त्यसको डटेर मुकाबिला गर्नुभयो तर अहिलेको गठबन्धनमा भएका दलहरुले कहिल्यै पनि त्यसलाई नाकाबन्दी भन्नुभएन । तर हाम्रा श्रद्धेय नेताले नाकाबन्दी नहट्दा सम्म छिमेकी देशमा भ्रमणमा नजाने भनी प्रतिबद्धता व्यक्त गर्नुभयो र त्यसैमा अटल हुनुभयो र अन्ततः नाकाबन्दी हट्यो ।


त्यसैगरी हाम्रो नक्साबाट गुमेको भूभागलाई चुच्चे नक्सा बनाएर लिपुलेक, कालापानी जस्ता क्षेत्रलाई केपी शर्मा ओलीले नक्सामा समावेश गर्न लगाउनुभयो तबदेखि विदेशीहरुको चलखेल शुरु भयो । त्यो चलखेल शुरु भएको कारणले गर्दा नेकपालाई विभाजन गरेर सरकार गिराएर अदालतबाट परामादेश जारी गरेर सरकार गठन भएको छ । अहिले विदेशी शक्तिको आडमा निर्वाचन हुँदैछ ।


तपाईको राजनीतिक पृष्ठभूमिमा प्रकाश पार्नुको साथै अहिलेको चुनावमा तपाईसँग के के योजना, एजेण्डा र कार्यदिशा छन् ?

राजनीतिको कुरा गर्दा म वि.स. २०४८ सालमा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीको पार्टी सदस्य हुँ । त्यो बेला पार्टी सदस्य भएको बेला २०५४ सालमा स्थानीय तहको निर्वाचन हुँदा म सिपाडोल गाउँ समितिको पार्टी अध्यक्ष भएको थिएँ । त्यतिबेला म २० वर्षको मात्र थिएँ । पछि म तत्कालिन जिल्ला विकास समिति २०६१ सालमा सदस्य पनि भएँ । सदस्य भैसकेपछि मैले विकास निर्माणका कार्यहरु धेरै अगाडि बढाएँ । म वि.स. २०७१ साल पुस २८ गते नेकपा एमालेमा प्रवेश गरें र २०७४ सालमा नेकपा एमालेको तर्फबाट सूर्यविनायक नगरपालिकाको वडा नं. ८ मा वडा अध्यक्षको रुपमा काम गरें भने अहिले नेकपा एमालेले मलाई प्रदेश सभाको उम्मेदवार बनाएको छ । म अहिले पार्टीको जिल्ला कमिटिको सदस्य पनि छु । मैले राजनीतिक पार्टीको साथ साथै सामाजिक क्षेत्रमा पनि काम गर्दै आइरहेको छु । म नेपाल रेडक्रस सोसाइटीको सिपाडोल उपशाखाको ३ कार्यकालको सभापति, त्यसैगरी जिल्ला शाखा भक्तपुरको २ कार्यकालको उपसभापति भएकोले म सामाजिक पृष्ठभूमि बोकेको मानिस हुँ । डोलेश्वर महादेव जुन हिन्दुहरुको प्रसिद्ध तिर्थस्थल छ, त्यसमा दशौं वर्ष त्यो मन्दिरलाई बनाउनेदेखि त्यसको विस्तारमा पनि लागि परेको छु । पहिले उक्त मन्दिर १ रोपनी क्षेत्रफलमा रहेकोमा अहिले २५ रोपनी क्षेत्रफलमा रहेको छ ।


हामीले धेरै पूर्वाधारहरु तयार गरिसकेका छौं । त्यसैगरी मेरो आबद्धता खेलकुद क्षेत्रमा पनि छ । म नेपाल टाइकाण्डो संघ बाग्मती प्रदेशको कोषाध्यक्ष हुँ र मैले २ कार्यकाल कोषाध्यक्ष भएर काम गरिराखेको छु । खेल र खेलाडीको विकास गर्नुपर्दछ भनेर म दत्तचित्त भएर लागेको व्यक्ति हो । यसको साथसाथै म व्यवसायी पनि हुँ । मेरो उद्योग कलकारखानाहरु छन् । म सूर्यविनायक उद्योग वाणिज्य संघको अध्यक्ष पनि हो । मैले अहिले उद्योगी व्यवसायीहरुको हक हितको लागि उहाँहरुको नेतृत्व गरिराखेको छु ।


चुनावको लागि कस्ता कस्ता एजेण्डाहरु अघि सार्नुभएको छ भन्ने प्रश्नमा उनले भने, “अहिले म बागमती प्रदेशबाट नेकपा एमालेको तर्फबाट प्रदेश सभामा उम्मेदवार छु । पहिलो कुरा संविधानमा उल्लेख भए अनुसार राज्यको तीन तह छन् । एउटा स्थानीय तह, अर्को प्रदेश तह र अर्को संघीय तह । अहिले पनि प्रदेशलाई जति मात्रामा प्रदेशले पाउनुपर्ने अधिकार छ, विकास निर्माणको लागि बजेटहरु छ, त्यो चाहिं संघले उपलब्ध गराएको छैन । यसमा कि त स्थानीय तहलाई उपलब्ध गराएको छ कि त संघले नै लिएको छ । अहिले पनि विकेन्द्रिकृत भएको छैन, केन्द्रिकृत नै छ ।


म यहाँबाट प्रदेश सभाबाट निर्वाचित भएर गैसकेपछि मैले संघियतालाई बलियो बनाउँछु । त्यसको लागि संविधानले प्रदत्त गरेका हक अधिकारको लागि म लाग्नेछु । प्रदेशलाई बलियो गराउने तर्फ मेरो पहिलो एजेण्डा हुन्छ भने दोश्रो चाहिं २०७४ सालमा नगर, प्रदेश र संघमा एमाले नै जितेको थियो । हामीले धेरै विकासका पूर्वाधारहरु तयार गरेका छौं । म आफै पाँच वर्ष जनताको प्रतिनिधि भएर काम गर्दा जनताको भावना र इच्छा अनुसार मैले विकास निर्माणका कामहरुमा सहयोग पु¥याएँ । कैयौं अधुरा रहेका कामहरु मैले आगामी दिनमा चुनाव जितेपछि पूरा गर्नेछु । मैले शिक्षा र स्वास्थ्यलाई बढी फोकस गर्नेछु । यहाँ सूर्य विनायक नगर अस्पताल छ, यसलाई म ट्रमा सेन्टरको रुपमा विकास गर्नेछु । त्यसैगरी शिक्षाको क्षेत्रमा म सामाजिक विकास समितिको संयोजक भएर नगरपालिका भरि शिक्षा, स्वास्थ्य, नगर विकास, युवा खेलकुद जुन मैले हेर्ने अवसर पाएँ, त्यहाँ बसेर काम गरेको मलाई अनुभव पनि छ । हामीले ५ वर्षे दौरानमा ३४ वटा सामुदायिक विद्यालयहरुको भवनहरु बनायौं, गुणस्तरीय शिक्षा दिनको लागि हामीले शिक्षकहरुलाई तालिमको व्यवस्था ग-यौं । अंग्रेजी माध्यमबाट पढाई शुरु ग¥यौं । शिक्षालाई मैले राम्रोसँग बुझेको छु । अब हामीले सूर्य विनायक नगरपालिकामा प्राविधिक धारको पढाई शुरु गर्नुपर्दछ । मेरो एजेण्डा भनेको शिक्षामा पनि बढी फोकस गर्नु हो । त्यसैगरी स्वास्थ्य क्षेत्रको कुरा गर्दा भक्तपुर जिल्लालाई हस्पिटलहरुको हब बनाउन पनि मेरो महत्वपूर्ण भूमिका रहनेछ ।


त्यसैगरी म आफू स्वयम खेलाडी भएकोले युवाहरुको खेलकुद विकासको लागि पूर्वाधारहरु निर्माण गर्न मेरो महत्वपूर्ण भूमिका रहनेछ । महिलाको सम्बन्धमा कुरा गर्दा महिला सशक्तिकरण सम्बन्धी र महिला स्वरोजगार सम्बन्धी विभिन्न तालिमहरु मैले संचालन गर्नेछु । मलाई पहिले ५ वर्ष जनप्रतिनिधि भएर, स्थानीय स्तरमा वडाध्यक्ष भएर काम गरेको अनुभव भएको कारणले विकास गर्नको लागि मेरो विशेष जोड रहन्छ ।


अहिले धेरै युवाहरु वैदेशिक रोजगारमा गएका छन्, त्यसलाई रोक्नको लागि कस्ता कस्ता योजनाहरु अगाडि सार्नुभएको छ ?

म आफै उद्योगी व्यवसायी, मेरा २ वटा छोराहरु छन्, उनीहरुलाई मैले विदेशमा पठाएको छैन । अर्को कुरा अहिले सूर्य विनायक नगरपालिकाले औद्योगिक ग्राम बनाउनको लागि ८५ रोपनी जग्गा दिइसकेको छ । म निर्वाचित भएर गैसकेपछि त्यो औद्योगिक ग्राम बनाउन छुट्याएको जग्गालाई रकम विनियोजन गर्नेछु, त्यसको लागि पूर्वाधार तयार गर्नेछु । त्यसैगरी उद्योग कलकारखाना स्थापना गर्न म लाग्नेछु । उद्योग र कलकारखाना स्थापना पछि यहाँ रहेका युवा तथा युवतीहरुलाई विदेशमा जान नपर्ने गरी यही रोजगारी सिर्जना गर्ने कार्यमा म लाग्नेछु । त्यसैगरी यो क्षेत्र पर्यटकीय हिसाबले पनि निकै राम्रो क्षेत्र हो । पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुलाई पूर्वाधारहरु तयार गरिदिने, यहाँका उद्योगी व्यवसायीहरुलाई त्यहाँ लगानी गर्न लगाउने, होटल, रेष्टुरेन्ट र रिसोर्टहरु बनाउन लगाउने, त्यस्तै गरी विभिन्न ठाउँमा गढी, झोलुंगे पुल जस्ता बनाएर त्यो क्षेत्रलाई विकास गरेर त्यो क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटक क्षेत्रको रुपमा विकास गर्ने योजना छ । अर्को कुरा सूर्यविनायक नगरपालिकामा ११ वटा शिवजीहरुको महत्वपूर्ण मन्दिरहरु छ, जस्तो लट्टमेश्वर, अनन्त लिंगेश्वर, कैलाशपति, आशापुरेश्वर, डोलेश्वर, सुवर्णेश्वर, धर्मेश्वर लगायतका महत्वपूर्ण मठ मन्दिरहरु छन् । ती मठमन्दिरहरुलाई नगरपालिकाले जोड्नको लागि डीपीआर तयार गरिसकेको छ बाटोको पूर्वाधार तयार गर्नलाई भने कतिपय ठाउँहरुमा शिव सर्किटको रुपमा विकास गरेर त्यो ठाउँलाई जोड्ने काम पनि गरिसकिएको छ । त्यसको लागि आन्तरिक तथा बाह्य पर्यटकलाई धार्मिक दृष्टिकोणले सूर्यविनायक नगरपालिकामा आकर्षित गर्ने वातावरण म बनाउँछु । यसले रोजगार सिर्जना गर्दछ, यसतर्फ मैले महत्वपूर्ण भूमिका निभाउँछु ।


नेतृत्वहरुको प्रतिबद्धतामा कमी कि भ्रष्ट राजनीति, घुसखोरी, भ्रष्टाचार, के कारणले देशले प्रगति गर्न नसकेको हो ?

हालको परिप्रेक्ष्यलाई हेर्ने हो भने बेरोजगार भएका अधिकांश व्यक्तिहरुले राजनीति गरेका छन् । मेरो सन्दर्भमा भन्ने हो भने म सामाजिक पृष्ठभूमि बोकेर अगाडि बढेको व्यक्ति हो । मैले रोजगारको लागि राजनीति गरेको होइन कि समाजसेवाको लागि राजनीति गरेको हो । मैले यो उदाहरण बनेर देखाइ पनि सके । मैले नगरपालिकामा बसेर काम गर्दा आजसम्म किरण थापालाई कसैले पैसा दियो भन्छ भने उनीहरुले भनेको सजाय भोग्न म तयार छु । दोश्रो कुरा नगरपालिकाबाट पाएको सेवा सुविधा मैले केही पनि लिइन । मलाई मोटरसाइकल दिएको थियो, मैले त्यो लिइन । म गाडी चढ्छु, मेरो गाडीमा १ लिटर डिजेल पेट्रोल पनि मैले लिइन । मैले ५ वर्ष जनप्रतिनिधि भएर काम गरेर पाएको पारिश्रमिक तलब भत्ता अक्षय कोष स्थापना गरेर, संस्था दर्ता गरेर जगत भैरव प्रतिष्ठान भन्ने संस्था दर्ता गरें र १५ लाख रुपैयाँ मैले जम्मा गरें । त्यसमा माननीय महेश बस्नेतले पनि १ लाख रुपैयाँ राखिदिनुभएको छ । अहिले व्यवसायीहरुले पनि सहयोग गरेर अहिले ३७ लाख पैसा भएको छ । ३७ लाख अक्षय कोषमा जम्मा भएको छ र त्यसको ब्याजले गरिब तथा जेहेन्दार छात्रछात्राहरुलाई छात्रवृत्ति दिएर पठनपाठनमा सहयोग गर्ने काम शुरु गरिसकेका छौं ताकी आर्थिक अभावको कारणले कोही पनि शिक्षाबाट बंचित हुन नपरोस् । हामीले छात्रछात्राहरुलाई ड्रेस किनिदिने, किताबकपी किनीदिने, फी बुझाइदिने, सामुदायिक विद्यालयमा भर्ना गर्ने आदि काम गरेर सहयोग गरेका छौं ।


म अहिले व्यक्तिगत प्रतिबद्धता के जाहेर गर्दछु भने म व्यक्तिगत स्वार्थको लागि चुनाव लडेको होइन । म भोलि निर्वाचित भएर गैसकेपछि म व्यक्तिगत स्वार्थमा लाग्दिन । म सामुहिक विकासको लागि समाजको विकासको लागि लाग्नेछु । म विकास कार्यमा मात्र लाग्दछु र भ्रष्टाचार मैले गर्दिन, त्यसको म घोर विरोधी हुँ । म सामूहिक स्वार्थको लागि, समाजको विकासको लागि लाग्नेछु । भ्रष्टाचार गर्ने कार्यलाई निस्तेज गर्नुपर्दछ भन्ने मेरो भावना र मान्यता छ ।


खासमा भ्रष्टाचार कि नेतृत्वहरुको प्रतिबद्धताको कमीको कारणले देशले विकास गर्न नसकेको भनी प्रश्न गर्दा उनले भने, “वास्तवमा यो नेताहरुको प्रतिबद्धताको कमी हो । किनकी नेताहरुले चुनाव जित्नुभन्दा अगाडि एकथोक बोल्छन् भने चुनाव जितिसकेपछि अर्को थोक गर्दछन् । हामी सबैले यो भोग्दै आइरहेको कुरा हो । तर मेरो सन्दर्भमा म जे बोल्छु भोलिका दिनमा पनि त्यही गर्दछु । यसमा कुनै किसिमको बाधा अप्ठ्याराहरु हुँदैनन् । कुनै पनि चुनौतीहरु छन् भने ती चुनौतीहरुलाई म अवसरको रुपमा लिन्छु । हाम्रो देश पछाडि परेको कारण भ्रष्टाचार र व्यक्तिगत स्वार्थले हो । त्यतातिर हामी सच्चिएर जानुपर्दछ जो सच्चिदैन त्यसको राजनीति अब हुँदैन ।


छोटकरीमा बताइदिनुहुन्छ कि जनताले तपाईलाई भोट किन दिने ?

पहिलो कुरा त मैले विगतमा वडा अध्यक्ष भएर काम गरिसकेको हो । म सँधै विकास निर्माणको कार्यमा लागेको मानिस, पुल बनाउने, बाटो बनाउने, बाटो कालोपत्र गर्ने, पीच गर्ने, ढलान गर्ने, ढल हाल्ने, सामुदायिक विद्यालयहरु बनाउने, भवनहरु बनाउने काममा लागे । अर्को कुरा म टेस्टेड व्यक्ति भैसकें । मसंग जो प्रतिष्पर्धि हुनुहुन्छ उहाँहरु कहीं पनि सामाजिक संस्थामा हुनुहुन्न । त्यसैगरी उहाँहरुले विगतमा कहीं पनि जनप्रतिनिधि भएर काम गर्नुभएको छैन । मसँग पाँच वर्षको अनुभव छ । मेरा प्रतिष्पर्धिहरुलाई त पाँच वर्ष अनुभव बटुल्दै ठीक्क हुन्छ । त्यसकारण पनि जनताले मलाई भोट दिनुपर्दछ । मैले सामाजिक पृष्ठभूमिमा लागेर काम गरेको हुनाले सामाजिक क्षेत्रमा लागेका मानिसहरुले पनि भोट दिनुहुन्छ । मैले विगतमा गरेको त्याग र समर्थनको कारणले पनि मलाई भोट दिनुहुन्छ । त्यसैगरी मैले उद्योगी व्यवसायीहरुको प्रतिनिधित्व गरेको हुनाले उद्योगी व्यवसायीहरुले पनि भोट दिनुहुन्छ । नेकपा एमालेमा आस्था र विश्वास भएका कार्यकर्ताहरुले त मलाई भोट दिनु नै हुन्छ । म एउटा पाटोबाट मात्र उम्मेदवार भएको छैन । मेरो विभिन्न पाटोहरु भएको कारणले गर्दा उहाँहरुले मलाई भोट दिनुहुन्छ र म निर्वाचित हुन्छु ।


वैचारिक र सैद्धान्तिक भिन्नताका बाबजुद अहिले गरिएको गठबन्धनलाई कसरी हेर्नुभएको छ ?

अहिलेको वैचारिक र सैद्धान्तिक विरोधको बाबजुदको गठबन्धनलाई मैले अवसरवादको गठबन्धन मान्दछु । सिद्धान्तको कुरा गर्ने हो भने माओवादी र कांग्रेस हिजो कुनै बेला एउटाले टाउकोको मूल्य तोक्ने, अर्कोले टाउको काट्ने भएको थियो । कतिपय नेपाली कांग्रेस भएको कारणले परिवारहरु गुमाउनु भएको छ । कतिपयले माओवादी भएको कारणले परिवार गुमाएका छन् । के परिवार गुमाएकाले हँसिया हतौडामा भोट हाल्लान् त? यो देशी विदेशी शक्तिको आडमा उहाँले जुन गठबन्धन गर्नुभएको छ, उहाँले नेपाली जनताको हक हितको लागि गर्नुभएको छैन । कसरी राष्ट्रवादी शक्तिलाई हराउने, राष्ट्रवादी शक्तिलाई पछाडि पार्ने भनेर लाग्नुभएको छ । त्यसकारण नेकपा एमालेको बहुमत आउँछ । मंसिर ४ केपी ओलीको सरकार भनेर नारा पनि बनाएको छ । उहाँहरुको एउटै उद्देश्य नेकपा एमालेलाई कसरी कमजोर गर्ने, ५, ५ दलहरु मिलेर नेकपा एमालेको विरुद्धमा आउनुभएको छ । तर पनि जनताले स्वविवेक प्रयोग गरेर मतदान गर्दा सूर्य चिन्हलाई मतदान दिनुहुन्छ ।


प्रतिद्धन्दी भन्दा तपाई कुन कुन कुरामा श्रेष्ठ हुनुहुन्छ ?

मेरो प्रतिष्पर्धि भन्दा म के कुरामा श्रेष्ठ छु भने पहिलो कुरा म सामाजिक पृष्ठभूमिबाट आएको व्यक्ति, दोश्रो म जनप्रतिनिधि भएर भिजिसकेको व्यक्ति, विकासको मोडल के हो भनेर मैले विकासको मोडल बुझेको छु । अर्को कुरा म सूर्यविनायक उद्योग वाणिज्य संघको अध्यक्ष, व्यवसायिहरुको पनि मैले प्रतिनिधित्व गरेको छु । व्यवसायीहरुको प्रतिनिधित्व गरेकोले व्यवसायीहरुले पनि मलाई भोट हाल्नुहुन्छ । म नेपाल टाइकाण्डो संघ बाग्मती प्रदेशको कोषाध्यक्ष भएकोले खेलप्रेमीले पनि मलाई भोट हाल्नुहुन्छ । पाँच वर्षमा म जनप्रतिनिधि भएर काम गरेको थिएँ । लकडाउनमा म एक दिन पनि घर बसेको थिइन । म सूर्यविनायक नगरपालिकाको सामाजिक विकास समितिको संयोजक भएकोले म लकडाउन हुँदा स्यानिटाइजर वितरण गर्ने देखि लिएर कोभिड लागेका विरामीहरुलाई म आफैले पीपीई लगाएर ज्यानको बाजी थापेर हस्पिटल सम्म पु¥याएको छु । मोबाइल भ्यान बनाएर प्रत्येक टोल टोलमा गएर पीसीआर टेस्ट गर्नको लागि स्वाब संकलन गर्ने काम गरेको छु । जनताले मेरो मूल्याकंन गर्नुभएको छ । मेरो प्रतिष्पर्धि अहिलेसम्म कतै सामाजिक काममा संलग्न हुनुहुन्न । जनताको माझ भिज्नु भएको छैन । त्यसकारण प्रतिष्पर्धीभन्दा म अगाडि छु भन्ने जस्तो मलाई लाग्दछ ।


अहिले सामाजिक संजालमा नो नट अगेन भन्ने मुभमेन्ट आएको छ । यसलाई कसरी लिनु भएको छ ? के जनताले पुरानालाई बहिष्कार गरेर नयाँलाई अँगाल्लान् त ?

यही कुरालाई लिएर एमालेका श्रद्धेय नेता केपी शर्मा ओलीको अन्तर्वार्ता लिएको थिएँ । यो कुरा कस्तो हो भने सिपाहीमा जागिर खाएको मानिसलाई एकैचोटी प्रधान सेनापति बनाइदियो भने के हुन्छ । त्यस्तै राजनीतिमा पनि अनुभव हुनुपर्दछ । अनुभव नभईकन गरिखा भनेर हुँदैन । त्यसकारण यो देश संचालन गर्नको लागि अनुभवी व्यक्तिहरुको आवश्यकता छ । जुन यो नारा छ यो बेकारको नारा हो, यसको कुनै औचित्य छैन । ल मानौं १०, १२ वटा स्वतन्त्रले जित्यो भने पनि उहाँहरुलाई कुनै न कुनै पार्टीको आवश्यकता पर्दछ र कुनै न कुनै पार्टीमा आबद्धता हुनुपर्दछ । यदि आबद्ध हुनुभएन भने उहाँहरुको कुरा कसले सुन्छ ? त्यसकारण यो बेकारको नारा हो र जनताले यसको मूल्याकंन गर्नुहुन्छ । आज धेरै स्वतन्त्रबाट उम्मेदवार हुनुभएको छ, त्यो हामीले देखेका छौं । स्थानीय तहमा काठमाडौं, धरान र धनगढीमा स्वतन्त्रले जित्नुभयो तर स्थानीय र संघमा फरक हुन्छ । स्थानीयमा नगरमै यो कार्यकारी पद हो । उहाँले आफै नीति, नियम र विधान सबै तयार गर्न सक्नुहुन्छ तर सभासद्हरुले त्यो सक्नुहुन्न । संसदमा बोल्न पनि दलको प्रतिनिधि भएर बोल्नुपर्दछ ।


देशको कृषि, स्वास्थ्य र शिक्षाको गुणस्तर वृद्धि गर्न तपाईसँग के कस्ता योजनाहरु छन् ?

कृषि, स्वास्थ्य र शिक्षाको विकास बारेमा कुरा गर्दा म एउटा कृषकको छोरा हो । अहिले तपाई हामीले देखेका छौं, आज परमादेशको सरकार गठन भएको छ । आज मलखाद र बिउ विजन पाइएको अवस्था छैन । सरकारमा बसेकाहरु गठबन्धनको मिटिङ बस्नुहुन्छ तर देश र जनताको लागि उहाँले कहिले पनि सोंच्नु भएन । धान रोप्ने बेलामा मल पाइएन । मकै छर्ने बेलामा मल पाइएन । डेंगु लागेर यतिका मानिसहरु संक्रमित भएर भयावह अवस्था हुँदा औषधि उपचारको लागि अस्पताल खचाखच भरिएका छन् । सिटामोल समेत नपाउने अवस्था छ । देश र जनताको लागि उहाँहरुले कहिले पनि सोंच्नु भएन । म कृषिको क्षेत्रमा समयमै मल र बिउ विजन पाउने, त्यसैगरी सिचाईको लागि कुलो र नहर बनाउन मेरो पहिलो प्राथमिकता हुन्छ । प्राविधिक कृषि तालिम गराएर कम जग्गामा धेरै कृषि पैदावर गराउनको लागि बजेट छुट्याउने गरी काम हुन्छ । त्यसैगरी शिक्षाको क्षेत्रमा अहिले सूर्यविनायक नगरपालिकामा भवनको पूर्वाधारहरु भैसकेका छन्, पाँचवर्ष शिक्षा क्षेत्रमा काम गरेको मलाई अनुभव पनि छ, अब नगरपालिकामा प्राविधिक धारमा शिक्षा शुरु गर्नुपर्दछ । स्वास्थ्यको क्षेत्रमा यहाँ भएका स्वास्थ्य चौकीमा विगत ५ वर्षको कार्यकालमा ल्याबको व्यवस्था गरिसकेका छौं । अब ल्याबको व्यवस्थाको साथसाथै हामीले अहिले भएको अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नति गर्ने योजना रहेको छ ।

प्रतिकृया