• 2:54 am

झापामा कोरोना बढेसंगै पूर्ण निषेधाज्ञा

प्रकाशित मिति

July 31, 2021

१६ साउन, २०७८ काठमाडौँ : कोभिड–१९ महामारीको सङ्क्रमणको दर उच्च हुँदै गएपछि झापा जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । दुई सात अघि मात्र झापा प्रशासनले कोरोना संक्रमणको दरमा कमी आएको भन्दै जारी निषेधाज्ञा खुकुलो बनाउँदै लगेको थियो । विहीबार बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले साउन १६ गते शनिवार (आज) राती देखी झापा जिल्ला पूर्णरुपमा निषेधाज्ञा गर्ने निर्णय गरेको हो । संक्रमणदर उच्च हुँदै गएपछि नियन्त्रणको उपाय स्वरूप निषेधाज्ञा घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए ।


उनका अनुसार साउन १६ गते शनिवार राती १२ बजे देखी लागु हुनेगरी साउन २३ गते राति १२ बजे सम्मको लागी पूर्ण निषेधाज्ञा घोषणा गरिएको हो । जिल्ला प्रशासन कार्यालय झापाले आदेश जारी गर्दै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणको लागी आह्वान गरेको छ । यस बिचमा हाट बजार मेला जात्रा महोत्सव लगायत भिडभाड हुने कुनै पनि क्रियाकलाप गर्न नपाइने भनिएको छ । औषधी पसल, ग्यास तथा पेट्रोल पम्प बाहेक सम्पूर्ण बजार पसल बन्द हुने आदेश गरिएको छ ।


हरियो सागसब्जीको हकमा भने बिहान ६ देखी ८ बजेसम्म बिक्री वितरणको लागी समय छुटाइएको छ । अत्यावश्यक सेवाका बाहेक सम्पूर्ण सार्वजनिक तथा निजी सवारीसाधन हरू २३ गते राति १२ बजेसम्मको लागी पूर्णरुपमा रोक लगाउने निर्णय भएको प्रजिअ तिम्सिनाले बताए । तर पूर्वपश्चिम राजमार्गमा लामो दरीका सवारी सञ्चालन गर्न पाइने भएको छ ।


उद्योग धन्दा सञ्चालनको हकमा कर्मचारी तथा कामदारलाई उद्योग भित्रै खान बस्नको व्यवस्था मिलाउनुपर्ने भएको छ । जन्ती जाँदा अधिकतम १० जना र मृत्यु संस्कारमा अन्यत्र जानुपर्ने भए स्थानीय पालिकाको अनुमति चाहिने निर्णय भएको छ । काँकडभिट्टा नाका बाहेक अन्य नाकाबाट बस्तु तथा मानिस आवत जावतमा रोक लगाइने र नेपाल प्रवेश गर्दा अनिवार्य एन्टिजेन परीक्षण गरिने प्रजिअ द्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।


सार्वजनिक तथा निजी कार्यलयमा न्यूनतम कर्मचारीको उपस्थितिमा आन्तरिक काम कारबाही अगाडी बढाउन सकिने भएको छ । कर्मचारीको हकका बिहान ९ देखी १० बजेसम्म र साँझ ५ देखी ६ बजेसम्म निजी तथा सार्वजनिक सवारीमा आवतजावत गर्न पाउने व्यवस्था मिलाइएको छ। यस अघि झापाका १० वटा पालिकाले आन्तरिक निषेधाज्ञा घोषणा गरिसकेका छन् ।

प्रतिकृया