बुटवल, कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिदै जान थालेपछि बुटवल उपमहानगरपालिकाले सडकमा रात बिताउन बाध्य बेसहारा सहयोगापेक्षीको स्वास्थ्य सुरक्षा कार्यक्रम शुरु गरेको छ । उपमहानगरपालिकाले सहयोगापेक्षीको सडकबाट उद्धार गरी निःशुल्क पिसिआर परीक्षण थालेको हो ।
बुटवललाई सडक मानवमुक्त क्षेत्र घोषणा गरिएको छ । घोषणा गरेयता सडकमा फेलापर्ने कुनैपनि बेसहारा तथा सहयोगापेक्षीलाई तत्काल उद्धार गरिंदै आएको छ । आफन्तविहीन भएर सडकमा बेवारिसे जीवन बिताएका बेसहारालाई कोरोना सङ्क्रमण हुनसक्ने र उनीहरुको जीवन रक्षा गर्ने उद्देश्यले पिसिआर परीक्षण शुरु गरिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताउनुभयो । लकडाउनका अवधिमा उपमहानगरपालिकाले २८ बेसहाराको उद्धार गरी बुटवलस्थित मानव सेवा आश्रममा राखिएको प्रमुख सुवेदीले बताउनुभयो ।
प्रमुख सुवेदीका अनुसार बुटवलभित्र कोही पनि अशक्त र रोगी कोरोनाको जोखिममा नपरुन् भन्ने उद्देश्यले सडकमा बेसहारा भएकाको उद्धार र पिसिआर परीक्षण गरिएको हो । आठ जनाको स्वाब सङ्कलन गरी प्रयोगशालामा पठाइएको र रिर्पोट नआउन्जेल छुट्टै आइसोलेशनमा राखिएको छ । उनीहरूमा त्यस्तो कुनै लक्षण नदेखिएको उपमहानगरपालिकाका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । पिपिईलगायतका उद्धारकर्ता र स्वास्थ्यकर्मीले मानवीय सहयोगका काम निरन्तर गर्दै आएका छन् ।
कोरोनाका कारण एक व्यक्तिले अर्को व्यक्तिलाई सम्पर्क समेत गर्न नसकेको अवस्थामा उपमहानगरले भने सडकमा बेसहारा भएर जीवन बिताएकालाई नगर प्रहरीमार्फत उद्धार गरी मानव सेवा आश्रममा राख्ने गरेको छ । उपमहानगरले सहयोगापेक्षीको उद्धार र व्यवस्थापनमा सहयोग गरेको मानव सेवा आश्रम रुपन्देही जिल्ला संयोजक सरु अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बुटवल क्षेत्रबाट लकडाउनमा २८ र प्रदेश ५ बाट ४५ जनाको उद्धार गरिएको छ । उपमहानगरले कोरोनाबाट नागरिक बचाउने गरी पिसिआर परीक्षणलाई फराकिलो बनाएको उपप्रमुख गुमादेवी आचार्यले बताउनुभयो । उहाँले लैंगिक हिंसामुक्त नगरको कार्ययोजनाअनुरुपका पनि काम भइरहेको बताउनुभयो । मिर्गौलाको डायलायसिस गराउनुपर्ने र क्यान्सर रोगीको निःशुल्क पिसिआर परीक्षण गरिएको छ जसलाई यहाँका अरु पालिकाले पनि अनुसरण गरेका छन् ।
उपमहानगरले सडकमा बेसहारा भएकाको पिसिआर परीक्षण गरेर अर्को नमूना काम गरेको भन्दै धेरैतिरबाट प्रशंसा भएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माको भनाइ छ ।
रासस










