• ५ साउन २०८३, मंगलबार
  • ५:३४ बेलुका

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वतन आवश्यक छ : अध्यक्ष ढकाल

प्रकाशित मिति

२०८२ आश्विन ७ गते, मंगलवार ०८:५४

असोज ७, २०८२ काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिलाई मंगलबार महासंघमा स्वागत गर्दै अध्यक्ष ढकालले निजी क्षेत्र सबैभन्दा ठूलो रोजगारदाता भए पनि हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा पर्नु गम्भीर विषय भएको बताए ।

आन्दोलन क्रममा निजी क्षेत्रमाथि आक्रमण हुनुले निजी क्षेत्रको महत्त्व बुझ्न नसकिएको हो कि भन्ने अनुभूति भएको उल्लेख गर्दै उनले यस्ता विषयमा दृष्टिकोण निर्माण गर्न सञ्चारक्षेत्रलाई आग्रह गरे ।

Kamana Sewa

निजी क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड रहेको र निजी क्षेत्रले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान गरिरहेको उनले बताए ।

Classic Tech Desktop

अध्यक्ष ढकालले जेनजीको आन्दोलनका क्रममा भएको घुसपैठमा देशभरि भएका तोडफोड र आगजनीले हालसम्म उपलब्ध तथ्यांक र सूचना अनुसार करिब ८० अर्ब रुपैयाँ बराबर निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आकलन गरिएको जानकारी दिए ।

‘हामीले विभिन्न समयमा विभिन्न राजनीतिक तथा प्राकृतिक विपत्ति सामना गर्दै यो अवस्थामा आइपुगेका हौं, २३ र २४ भदौको जेनजी आन्दोलनपछि सरकारी तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ, हामीसामु यो अवस्थाबाट माथि उठ्नुपर्ने चुनौती छ,’ उनले भने ।

यद्यपी, वर्तमान सरकारले छोटो समयमा नै निजी क्षेत्रको धारणा अनुसार राहतका प्याकेज घोषणा गरेर मनोबल उकास्ने काम गरेको र यसलाई महासंघले सकारात्मक रूपमा लिएको ढकालले बताए । उनले तथ्यमा आधारित, खोजमूलक र जिम्मेवार पत्रकारिताले निजी क्षेत्रको विश्वसनीयता बढाउनुका साथै नीतिगत सुधारका लागि दबाब सिर्जना गर्ने बताउँदै सेजनसँगको सहकार्यमा महासंघ सधैं सकारात्मक रहेको धारणा राखे ।

महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अहिलेको घटनाले उद्योगी–व्यवसायीमा असुरक्षाको भावना पैदा भएको उल्लेख गर्दै उद्योगी–व्यवसायी तथा आम सर्वसाधारणको मनोबल उच्च राख्ने गरी शान्ति सुव्यवस्था कायम गर्नुपर्ने बताए । उनले नेपालमा भएका पछिल्ला केही घटनाले अन्तर्राष्ट्रिय स्तरमा नेपालबारे नकारात्मक सन्देश प्रवाह भएको बताउँदै यसले रोजगारीमा असर पार्ने उल्लेख गरे ।

महासंघ उपाध्यक्ष हेमराज ढकालले अर्थतन्त्र पुनस्र्थापना र सुशासन कायम गर्न निजी क्षेत्र र सरकारबीच निरन्तर संवाद संयन्त्र निर्माण गर्न, व्यवसायीलाई आत्मविश्वास साथ खुला रूपमा व्यवसाय गर्न सक्ने वातावरण सुनिश्चितता अहिलेको आवश्यकता भएको बताए ।

बदलिँदो पछिल्लो राजनीतिक परिस्थितिमा संयुक्त रूपमा आर्थिक विकास, रोजगारी सिर्जना र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै महासंघले उठाएका यी विषय समग्र देशको आर्थिक विकास र समृद्धिका लागि हो भन्ने बुझिदिन समेत महासंघको आग्रह छ ।

प्रतिकृया