बालुवाटारमा किन बस्दै शेखर समूहको बैठक ?
प्रकाशित मिति
२०८२ असार २६ गते, बिहीबार १०:५३
असार २६, २०८२ काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफ्नो समूहभित्रका नेताहरूको आकस्मिक बैठक बोलाएका छन्। बैठक आज बिहान ८ बजेबाट बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा जारी छ।
यो बैठक कांग्रेस केन्द्रीय अनुशासन समितिद्वारा हिजो गरिएको कारबाहीको सन्दर्भमा बोलाइएको हो। समितिले २०७९ सालमा सम्पन्न संघ र प्रदेश निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरूलाई असहयोग गरेको आरोपमा करिब डेढ दर्जन नेता–कार्यकर्तामाथि कारबाही गरेको थियो। तीमध्ये अधिकांश शेखर पक्षका रहेका छन्।

नेता कोइरालाले बहुमतको बलमा आफ्नो समूहका नेता–कार्यकर्तालाई निशाना बनाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। कारबाहीप्रति गम्भीर आपत्ति जनाउँदै उनले समन्वय र रणनीतिक छलफलका लागि आफ्ना पक्षका नेताहरूलाई बैठकमा आमन्त्रण गरेका हुन्। पार्टीभित्र आन्तरिक गुटबन्दी र असन्तुलित निर्णयप्रति यस्ता असन्तुष्टि सार्वजनिक भइरहँदा कांग्रेस नेतृत्व थप चुनौतीमा पर्ने संकेत देखिएको छ।





प्रतिकृया