कोशीमा मनसुन सक्रिय, पहाडी भूभागमा बदली र वर्षाको सम्भावना
प्रकाशित मिति
२०८२ जेष्ठ २५ गते, आईतवार ०८:५७

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। यसैगरी, कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव विस्तार भएको छ । मनसुनी वायु गत जेठ १५ गते रातिबाटै नेपालको पूर्वमा प्रवेश गरेको थियो। यसको प्रभावले अहिले देशको पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफादेखि आंशिक बदली हुनेछ।कोशी प्रदेशका केही स्थानहरू साथै मधेश प्रदेश र अन्य पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने महाशाखाले अनुमान गरेको छ।
आज राति कोशी प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
प्रतिकृया