च्यासलबाट एमालेको पार्टी कार्यालय हटाउनु पर्दछ : प्रभु साह
प्रकाशित मिति
२०८२ बैशाख १६ गते, मंगलवार ०२:५२

वैशाख १६, २०८२ काठमाडौँ: आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहले तुलसीलाल स्मृति प्रतिष्ठानमा नेकपा (एमाले) ले पार्टी कार्यालय राखेकोमा प्रश्न उठाएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारी बजेटले बनेको प्रतिष्ठानमा पार्टीको कार्यालय राख्नु गलत भएको बताए । अहिले एमालेले केन्द्रीय कार्यालय च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा छ ।
नेता साहले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त कार्यले ‘मठमन्दिरमा बसेर मासु र रक्सीको व्यापार गरिरहेको’ आभास गराउने टिप्पणी गरे । नियमन गर्नुपर्ने जिम्मेवारीमा रहेका प्रधानमन्त्री आफै प्रतिष्ठान दुरुपयोग गर्नेको मतियार बनिरहेको नेता साहको आरोप छ ।
‘प्रधानमन्त्रीजी मठमन्दिरमा बसेर मासु र रक्सीको व्यापार गरिरहेको आभास हुन्छ । सामाजिक कार्यको लागि निर्मिति तुलसीलाल स्मृति प्रतिष्ठानमा उहाँको पार्टीको केन्द्रीय कार्यालय छ । म सोध्न चाहन्छु– तुलसीलाल स्मृति प्रतिष्ठान सामाजिक संस्था हो कि व्यापारिक संस्था हो ? यदि सामाजिक संस्था हो भने जुसको लाइसेन्स लिएर मदिराको व्यापार गर्न मिल्छ कि मिल्दैन ? आज प्रतिष्ठानहरु नेताको लुट्ने भाँडो भएको छ । सरकारी बजेट खन्याउने अनि ती संस्थाका आम्दानीहरु निजी स्वार्थमा प्रयोग गर्ने ? जनताको खुन पसिनाको करोडौं रकम दुरुपयोग भइराख्दा यसलाई नियमन गर्नुपर्ने होइन र ?’ प्रश्न गर्दै उनले भने ।
प्रतिकृया