उपत्यका लगायत देशका विभिन्न स्थानमा तापक्रम बढ्दो क्रममा, सतर्क हुन सुझाव
प्रकाशित मिति
२०८२ बैशाख १२ गते, शुक्रबार ११:२६

वैशाख १२, २०८२ काठमाडौँ: राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा तापक्रम लगातार बढ्दो क्रममा छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो गर्मीको लहर शनिबारसम्म कायम रहनेछ भने आइतबारदेखि बदलीसहित तापक्रममा केही गिरावट आउने सम्भावना छ ।
आज काठमाडौं उपत्यकाको तापक्रम ३१ देखि ३४ डिग्री सेल्सियसबीच रहने अनुमान गरिएको छ । तराईका विभिन्न शहरहरूमा अझै उच्च तापक्रम मापन भइरहेको छ। धनगढी र नेपालगञ्जमा तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्नेछ भने भैरहवामा ४० देखि ४२ डिग्री सेल्सियस हुने पूर्वानुमान मौसमविद्हरूले गरेका छन् ।
मौसम विश्लेषण अनुसार, दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती क्षेत्रमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षा पनि हुन सक्ने सम्भावना रहेको छ ।
अन्य भूभागहरूमा भने मौसम सफा रहने बताइएको छ। जल तथा मौसम विभागले उच्च तापक्रमका कारण सम्भावित स्वास्थ्य समस्या र तापघातको जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। खुला घाममा लामो समय नबस्न, प्रशस्त पानी पिउन र बालबालिका तथा वृद्धवृद्धाको विशेष हेरचाह गर्न सुझाव दिइएको छ।
प्रतिकृया