आजको मौसम कस्तो रहनेछ ?
प्रकाशित मिति
२०८२ बैशाख १२ गते, शुक्रबार ०८:१६

वैशाख १२, २०८२ काठमाडौँ: हाल नेपालमा स्थानीय वायुले प्रभाव पारिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको असरले देशभर तापक्रममा क्रमिक वृद्धि भइरहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली देखिएको छ भने बाँकी भूभागमा मौसम प्रायः सफा रहेको महाशाखाले जनाएको छ।
गण्डकी प्रदेशको केही पहाडी क्षेत्रहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानमा मौसम खुल्ला रहने अनुमान गरिएको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका केही पहाडी स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । यस्तै, ती प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानहरूमा हल्का हिमपात हुन सक्ने सम्भावना पनि रहेको छ। रातिको समयमा पनि यस्तै मौसमी अवस्था रहने संकेत गरिएको छ।
तराईतर्फ भने मौसम निकै गर्म हुने देखिएको छ । विशेषगरी मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराई भूभागहरूमा तातो लहर चल्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाले अत्यधिक गर्मीबाट जोगिन आवश्यक सतर्कता अपनाउन, खुला घाममा लामो समय बस्नबाट बच्न र पर्याप्त पानी पिउन जनसमुदायलाई सुझाव दिएको छ।
प्रतिकृया