• 8:30 am

प्रधानमन्त्रीसँगको वार्तापछि छलफलमा जुट्यो शिक्षक महासंघ

प्रकाशित मिति

२०८२ बैशाख ६ गते, शनिबार ०३:५८

वैशाख ६, २०८२ काठमाडौँ: सरकारसँग वार्ता भएपछि राष्ट्रिय शिक्षक महासंघ छलफलमा जुटेको छ । महासंघले आगामी रणनीतिका बारेमा छलफल गर्न बैठक बोलाएको हो । बैठक आज अपराहन्न ३ बजे रत्नराज्य मावि बानेश्वरमा बस्ने बताइएको छ ।

शुक्रबार राति प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल शिक्षक महासङ्घका पदाधिकारीबीच शिक्षक आन्दोलन र समस्याको समाधानका विषयमा बालुवाटारमा छलफल भएको थियो।

प्रधानमन्त्री ओलीले जायज मागबारे गृहकार्य गरी वार्ताबाट समाधान खोज्न चैत २५ मा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री विद्या भट्टराईलाई निर्देशन दिएका थिएका थिए ।

वैशाख २ को मन्त्रिपरिषद् बैठकले विधेयक पारित गर्न वैशाख १२ गते संसद् अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । सरकारले महासङ्घका मागप्रति संवेदनशील रहँदै संवाद जारी राखेको र विद्यालय भर्ना, एसइइ उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यानमा राखी आन्दोलन फिर्ता गरेर विद्यालय फर्कन शिक्षकलाई आग्रह गरेको छ ।

बालुवाटारमा भएको छलफलमा महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी थिए ।

विद्यालय शिक्षा विधेयक, २०८१ तुरुन्त पारित गर्नुपर्ने मागसहित महासङ्घको आह्वानमा चैत २० गतेदेखि शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन्।

प्रतिकृया