बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न ट्रम्पको निर्देशन
प्रकाशित मिति
२०८१ फाल्गुन ७ गते, बुधबार १२:५३

फाल्गुण ७, २०८१ काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा निर्णय लिँदै बाइडेन प्रशासनमा नियुक्त सबै न्यायाधिवक्ताहरूलाई बर्खास्त गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल पोस्टमार्फत पुर्व राष्ट्रपति जो बाइडेनले नियुक्त गरेका सबै न्यायाधिवक्तालाई बर्खास्त गरेको जानकारी दिएका हुन् ।
ट्रम्पले लेखेका छन्, ‘विगत चार वर्षमा न्याय विभागलाई पहिले कहिल्यै नभएको जस्तो राजनीतिकरण गरिएको छ । त्यसैले मैले बाइडेन प्रशासनका सबै अमेरिकी न्यायाधिवक्ताहरूलाई बर्खास्त गर्न निर्देशन दिएको छु । हामीले घर सफा गर्नुपर्छ र मानिसहरूको विश्वास पुनर्स्थापित गर्नुपर्छ । अमेरिकाको स्वर्ण युग तब मात्र आउन सक्छ जब न्याय प्रणाली निष्पक्ष हुन्छ, र यो आजैबाट सुरु हुन्छ ।’
राष्ट्रपति ट्रम्पले सत्ता सम्हालेदेखि नै अमेरिकी न्याय विभाग उथलपुथलमा परेको छ । धेरै न्यायाधिवक्ताहरूले पहिले नै राजीनामा दिइसकेका छन् । अमेरिकी न्याय विभागमा राष्ट्रपति परिवर्तन भएपछि वकिलहरूले राजीनामा दिने अभ्यास छ, तर सामान्यतया नयाँ प्रशासनले वकिलको राजीनामा माग्छ तर बर्खास्त पत्र जारी गर्दैन । यसपटक, ट्रम्पले अभ्यास परिवर्तन गरेका छन् र वकिललाई बर्खास्त गरेका छन् ।
ट्रम्पले पहिले नै न्यूयोर्क र वासिङ्टनका न्यायाधिवक्ताहरूलाई बर्खास्त गरिसकेका छन् । ट्रम्पले राष्ट्रपति चुनाव अभियानको क्रममा न्याय विभागलाई हतियार बनाइएको र आफ्नो विरुद्ध प्रयोग गरिएको आरोप पनि लगाएका थिए । बाइडेन प्रशासनमा ट्रम्पविरुद्ध धेरै मुद्दा दायर गरिएका थिए र ट्रम्प विरुद्धको सुनुवाइमा भाग लिने र ट्रम्पविरुद्ध अनुसन्धान गर्ने सबै न्यायाधिवक्ताहरूलाई ट्रम्पले पहिले नै न्याय विभागबाट हटाइसकेका छन् ।
अमेरिकामा कुल ९३ न्यायाधिवक्ता हुने गर्दछन् जो ९४ संघीय जिल्ला अदालत मध्ये प्रत्येकका लागि एक र दुई जिल्ला अदालतमा एक अमेरिकी न्यायाधिवक्ता हुने गर्दछन् ।
प्रतिकृया