ललिता निवास प्रकरणमा माधव र बाबुराम विरुद्धको मुद्दामा सकियो सुनुवाइ
प्रकाशित मिति
२०८१ फाल्गुन १ गते, बिहीबार ०४:१७
फाल्गुण १, २०८१ काठमाडौँ: ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईमाथिको रिटको सुनुवाइ सकिएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ भएको हो । सुनुवाइ सकिएकाले फैसला सम्भवतः आजै आउने सम्भावना छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले उक्त निर्णय बदरको माग गर्दै रिट दायर गरेका थिए ।

अधिवक्ता न्यौपानेले नेपाल र भट्टराईलाई ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा संलग्न रहेको दाबीसहित भ्रष्टाचार मुद्दा चलाउन आदेश माग गरेका थिए । अख्तियारले भने नेपाल र भट्टराईले नीतिगत निर्णय मात्रै गरेकाले मुद्दा नचलाउने निर्णय गरेको थियो ।

यसअघि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासले निर्णय सुनाउनका लागि २०७९ कात्तिक १५ गतेको मिति तोकेको थियो । तर, मुद्दाको निर्णय सुनाउनुअघि नै तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले राणामाथि महाअभियोगको डन्डा वर्षाएपछि सो प्रकरण त्यसै डिसमिस बन्यो ।
५ वर्षमा १८ पटक पेशी र १३ पटक सुनुवाइको पालो आउँदापनि कुनै छिनोफानो हुन सकेको छैन ।




प्रतिकृया