सिंहदरबारमा विपक्षी दलको बैठक- तत्काल संसद बोलाउन दबाब दिने निर्णय
प्रकाशित मिति
२०८१ माघ २ गते, बुधबार १२:१६

माघ २, २०८१ काठमाडौँ: सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दल कार्यालयमा बुधबार विपक्षी दलहरूको बैठक बसेको छ ।
बैठकले सरकारले संसद्को हिउँदे अधिवेशन नबोलाएर स्वेच्छाचारी रवैया देखाएको निष्कर्ष निकालेको छ । सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै बैठकबाट आपत्ति जनाइएको छ ।
“नियमति संसद् अधिवेशन नबोलाएर स्वेच्छाचारी ढंगले सरकार सञ्चालन गर्ने रवैया देखिएको छ । हामी ६ दलको चासो सरकार स्वेच्छाचारी बनेको भन्ने,” नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले भने, “संसद्लाई छल्न खोजेको छ । अध्यादेश ल्याइएको छ । कानुन निर्माण गर्ने मूल जिम्मेवारी हिउँदे अधिवेशन हुने गर्छ ।”
सरकारले हिउँदे अधिवेशन बोलाउन ढिलाइ गरिरहेकाले तत्काल सदन बोलाउन दबाब दिने निर्णय भएको उनले बताए । ‘सरकारलाई सदन बोलाउन दबाब दिने विषयमा छलफल भयो । सरकारले विपक्षी दलहरूको आवाजलाई नसुन्ने हो भने विशेष अधिवेशनसमेत माग गर्नुपर्ने हुन सक्छ। हामीले यही विषयमा छलफल गरेका छौं,’ उनले भने ।
बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा उपमहासचिव वर्षमान पुन, एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल र उपाध्यक्ष वेदुराम भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक अध्यक्ष डीपी अर्याल, नेपाल समाजवादी पार्टीबाट अध्यक्ष महीन्द्र यादव तथा आम जनता पार्टीबाट अध्यक्ष प्रभु साहलगायत सहभागी थिए ।
प्रतिकृया