• 12:22 pm

नेपाल-भारत वाणिज्य सचिवस्तरको बैठक आज काठमाडौंमा

प्रकाशित मिति

२०८१ पुष २६ गते, शुक्रबार १२:०८

पुष २६, २०८१ काठमाडौँ: नेपाल-भारत वाणिज्य सचिवस्तरको बैठक आज काठमाडौंमा बस्दैछ। बैठकमा नेपालबाट भारतमा हुने वस्तु निर्यात र व्यापार सहजीकरणका विषय मुख्य एजेन्डा रहेका छन्। नेपाली पक्षले नेपाल-भारत वाणिज्य र पारवहन सन्धिको पुनरावलोकनलगायतका विषय पनि उठाउने तयारी गरेको छ।

हाल भारतले गुणस्तर चिह्नलाई कारण देखाउँदै नेपाली वस्तुको निर्यातमा अवरोध गरिरहेको छ। सिमेन्ट, जुत्ता, सेनेटरी प्याडजस्ता वस्तु भारत निर्यात गर्न सहज नभएको नेपाली पक्षको गुनासो छ। यसैबीच, भारतीय पक्षले भारतमा उत्पादित दुग्ध पदार्थलाई नेपाली बजारमा सहज पहुँच दिन माग गरेको छ।

नेपालले कुल आयातको ६४ प्रतिशतभन्दा बढी भारतबाट गर्ने र ६८ प्रतिशतभन्दा बढी वस्तु भारतलाई नै निर्यात गर्ने गरेको छ। बैठकमा कृषिजन्य वस्तुको आयात-निर्यातका लागि प्रयोगशाला र क्वारेन्टाइन सेवामा सुधार गर्ने विषयमा पनि छलफल हुनेछ।

नेपालले तेस्रो देशबाट सामान ल्याउन भारतले दिएको तीन वटा बन्दरगाहको सुविधा उपयोग गर्दै आएको छ। तर, अब नेपालले तेस्रो देशमा निर्यात गर्न भारतका धान्द्रा र मुन्द्रा बन्दरगाह पनि उपयोग गर्न पाउने माग अघि सारेको छ।

प्रतिकृया