• 6:02 am

हसिनासहित ९७ जनाको राहदानी रद्द

प्रकाशित मिति

२०८१ पुष २६ गते, शुक्रबार १०:०५

पुष २६, २०८१ काठमाडौँ: बंगलादेशको युनुस सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनासहित ९७ जनाको राहदानी रद्द गरेको छ। शेख हसिनाको राहदानी रद्द भएपछि भारतले उनको भिसाको म्याद थपेको छ। यस कदमले भारतले हसिनालाई बंगलादेश नपठाउने स्पष्ट संकेत दिएको छ।

यसअघि, जनवरी ६ मा बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। न्यायाधिकरणले उनलाई फेब्रुअरी १२ सम्म अदालतमा उपस्थित हुन निर्देशन दिएको छ। त्यस्तै, बंगलादेशको अन्तरिम सरकारले भारतलाई हसिनालाई देश निकाला गर्न आग्रह गरेको छ।

बंगलादेशको स्वतन्त्र अनुसन्धान आयोगका प्रमुख मेजर जनरल फजलुर रहमानले भारतले हसिनालाई निकाला नगरे, अनुसन्धान आयोग भारतमै पुगेर उनलाई सोधपुछ गर्न तयार रहेको बताएका छन्।

सन् २०२३ अगस्ट ५ मा भएको कूपछि शेख हसिना भारतमा शरण लिएकी थिइन्। युनुस सरकारले विद्रोहपछिको समयमा हसिनाविरुद्ध हत्या, अपहरण र देशद्रोह जस्ता २२५ भन्दा बढी मुद्दा दर्ता गरेको छ।

बंगलादेशले सुपुर्दगी सन्धिअनुसार शेख हसिनालाई फिर्ता लिने प्रयास गरिरहेको छ। भारतलाई यसबारे औपचारिक नोटिस पठाइसकेको बंगलादेशले आफ्नो अडान स्पष्ट पारेको छ।

ढाका ट्रिब्यूनका अनुसार, २०१३ मा बंगलादेश र भारतबीच भएको सुपुर्दगी सम्झौताको आधारमा बंगलादेशले युनाइटेड लिबरेशन फ्रन्ट अफ असमका नेता अनुप चेटियालाई २०१५ मा भारतलाई सुम्पिएको थियो। भारतले पनि यसअघि बंगलादेशका भगौडाहरुलाई फिर्ता पठाएको इतिहास छ।

सन् २०१६ मा सम्झौतामा गरिएको संशोधनअनुसार, सुपुर्दगी चाहने देशले अपराधको प्रमाण पेश गर्नु नपर्ने व्यवस्था छ। वारेन्ट नै सुपुर्दगीको लागि पर्याप्त ठहरिन्छ।

प्रतिकृया