• 11:46 am

जनकपुरधाममा रङ्गशाला निर्माणको तयारी, डिपिआर तयार हुँदै

प्रकाशित मिति

२०८१ पुष २१ गते, आईतवार ०३:३७

पुष २१, २०८१ काठमाडौँ: मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रङ्गशाला बनाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको जानकारी दिएका छन्। जनकपुरधाममा सोमबारदेखि सुरु भएको ‘जय ट्रफी मेन्स एलाइट कप’को उद्घाटन कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले राष्ट्रिय खेलकुद परिषद् र गुठी संस्थानसँग खेल मैदानका लागि सम्झौता गर्ने बताए।

मुख्यमन्त्री सिंहका अनुसार रङ्गशाला निर्माणको लागि सहमतिमा रहेको जमिनको मालपोत पास हुनेबित्तिकै प्रदेशस्तरीय मन्त्रिपरिषद्बाट निर्णय गरी प्रतिवेदन संघीय सरकारलाई पेस गरिनेछ। उनले भारत सरकारले करिब सात वर्षअघि घोषणा गरेको एक अर्ब रुपैयाँ हालसम्म खर्च नभएकाले उक्त रकम रङ्गशाला निर्माणमा लगाइने जानकारी दिए। बाँकी रकम प्रदेश सरकारले ब्यहोर्ने बताए।

मुख्यमन्त्री सिंहले भारत सरकारको सहयोग रकम खर्च गर्न केन्द्र सरकारले स्वीकृति दिएपछि मात्रै बोलपत्र आह्वान गर्न सकिने बताए। प्राविधिक त्रुटिका कारण हालसम्म बोलपत्र आह्वान हुन नसकेको स्पष्ट गर्दै उनले रङ्गशालाका लागि करिब दुई अर्ब ५० करोडदेखि तीन अर्ब रुपैयाँसम्म लाग्ने अनुमान गरेका छन्।

उनले खेलकुदसँगै अन्य पूर्वाधार विकासमा युवाहरूको सहकार्य र समन्वय गरी प्रदेश सरकारले नयाँ अवसर सिर्जना गर्दै जाने प्रतिबद्धता पनि जनाए।

उद्घाटन कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, धनुषा क्रिकेट संघका अध्यक्ष गुड्डु पाण्डेयसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि र खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।

प्रतिकृया