• 4:03 pm

पूर्वआइजीपी सर्वेन्द्र खनालले एमाले छोडे

प्रकाशित मिति

२०८१ पुष २१ गते, आईतवार १२:११

पुष २१, २०८१ काठमाडौँ: नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनालले नेकपा एमाले छोडेका छन् । खनालले सामाजिक सञ्जालमा अहिले आफू कुनै पनि पार्टीमा नरहेको बताएका हुन् ।

उनले लेखेका छन्-

‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन । राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पुर्‍याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ ,म देश र जनताको हितका लागि सधैँ लडिरहनेछु ।’

खनालले २६औं प्रहरी प्रमुखका रुपमा २०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए । ३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि उनी नेकपा एमाले प्रवेश गरेका थिए । वि.सं. २०७९ असोज ६ गर्ते पार्टी कार्यालय, च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई एमालेमा प्रवेश गराएका थिए ।

उनी एमालेबाट काठमाडौँ-६ मा प्रतिनिधि सभाको उम्मेदवार समेत बनेका थिए भने तनहुँ-१ को उपनिर्वाचनमा समेत एमालेबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेर पराजित भएका थिए ।

यसैबीच, नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले स्वार्थपूर्तिका लागि पार्टीमा आउनेहरू लाभ लिएर जाने कुरा अनौठो नभएको टिप्पणी गरेका छन्। खनालले एमाले परित्याग गरेपछि बास्कोटाले यस्तो प्रतिक्रिया जनाएका हुन्।

प्रतिकृया